समाज

अर्काको नागरिकतामा ज्वाइँको फोटो टाँसेर मेनपावर खोलेर लाखौं ठगेपछि...

इकागज |
माघ २४, २०८० बुधबार १९:१० बजे

काठमाडौँ- वैदेशिक रोजगारीका लागि छ्यासछ्यास्ती खुलेका मेनपावरहरूबाट कसरी मानिसहरू ठगिन्छन् भन्ने दृष्टान्त सार्वजनिक भएको छ । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि रहस्य बाहिर आएको हो ।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-९ नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भई हाल ललिपुर-१८ बस्ने २७ वर्षीय रामसेवक सिंह छन् ।


उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार ललितपुर-९ मिलन टोलबाट पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनीहरूले राजकुमार बजगाईंसहित ५५ जनालाई युरोपियन मुलुक पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र युरोप पुगेपछि मासिक १ लाख ५५ हजार रुपैयाँ तलब हुने भन्दै दुवै जनालाई पटक-पटक गरी पीडितहरूबाट उक्त परिमाणको रकम उठाएको केसीले बताए ।

‘रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए,’ केसीले भने, ‘खोजी तथा अनुसन्धानको सिलसिलामा दुवै जनालाई उनीहरू बसेको स्थानबाट पक्राउ गरिएको हो ।’

केसीका अनुसार रामेश्वर सिंहले आफूलाई सरोज यादव र नागेन्द्र यादव बताउने गरेका थिए । रामसेवकले आफूलाई सरोज यादव रहेको बताउथे ।

रामसेवक रामेश्वरका ज्वाइँ हुन् । उनीहरूले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर ओभरसिज नै खोलेको पाइएको छ ।

रामेश्वर बजाज ओभरसिजमा २०७४ सालदेखि कर्मचारीको रूपमा एक वर्ष काम गरेका व्यक्ति हुन् । उनले त्यही साल फागुनमा भेरी ओभरसिज किनेर सञ्चालन गरेका थिए ।

उक्त ओभरसिजमा सक्रिय रहँदा उनले दुई सय जनाबाट तीन करोड ठगी गरेको पाइएको छ । उक्त ठगीमा उनी एक वर्ष ६ महिना जेल बसेर छुटेको केसीले बताए ।

भेरी ओभरसिजमा विदेश जान पेस गरेका धनुषाका सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाण पत्रमा उनले आफ्ना ज्वाइँ रामसेवकको फोटो टाँसे । त्यसबाट उनले विराट कन्सल्टेन्सी बिर्तामोड, गडिमाई कन्सल्टेन्सी काठमाडौँ र कमलामाई कन्सल्टेन्सी दर्ता गरेका थिए ।

ती ओभरसिजबाट उनले रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने भनी ४८ जनाबाट प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएका थिए ।

सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एनआइसी एसिया बैंक र कामना विकास बैंकमा खाता खोलेको भेटिएको छ । ती तिनै बैंकमा कारोबार रामसेवक सिंहबाट गर्ने गरेको खुलेको छ ।

यादवत्रयलाई भने आफ्नो नागरिकता दुरुपयोग भएर धेरै व्यक्ति ठगिएको जानकारी थिएन । उनीहरू सबै जना गाउँमा कृषि पेसा गरेर बस्थे ।

यता, पीडितहरूले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिए । यसपछि अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्ना ज्वाइँ रामसेवक सिंहको फोटो टाँसेर ती व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुलेको केसीले बताए ।

रामेश्वरविरुद्ध २०७८ सालमा ठगी मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा उनी फरार थिए ।

२०७९ सालमा सिन्धुली जिल्लामा लागूऔषध मुद्दा चलेकोमा उनी २४ दिन कैद र दुई जरिवाना भई मुक्त भएका थिए ।

पक्राउ परेकाको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड फेला परेको छ ।

दुवैविरुद्ध ठगी, किर्ते जालसाजी, बैकिङ कसुरलगायतका मुद्दामा अनुसन्धान हुने केसीले बताए ।


Author

थप समाचार
x