समाज

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

इकागज |
बैशाख ३, २०८१ सोमबार १४:५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर सूर्य विनायक नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका-८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका-३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङघर्ष राई रहेका छन् ।


पक्राउ मध्ये पवनले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ९० हजार रुपैयाँ ठगी गरेको, नमराजले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ ठगी गरेको र सङघर्षले युरोपका देशहरू पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं सम्भूमार्गबाट, नमराजलाई काठमाडौं नयाँ बानेश्वरबाट र सङघर्षलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x