अपराध

मादी हत्याकाण्ड

घरमा रगत लागेका थप कपडा भेटिए, मृतकको काजकिरिया सकिएलगत्तै ६ जना पक्राउ

बाबुराम भण्डारी |
असोज ४, २०७८ सोमबार ९:५० बजे

फाइल फाेटाे

विराटनगर – गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको ६ जनाको सामुहिक हत्याकाण्डको अनुसन्धानका लागि भन्दै प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । तेजबहादुर कार्कीसहित हत्या भएका ६ जनाको धार्मिक परम्परा अनुसार शनिबार काजकिरिया सकिए लगत्तै प्रहरीले मुख्य आरोपी भनिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाई नरेश कार्की, बुवा रणबहादुर कार्की, छिमेकी खड्गबहादुर कार्की, उनकी श्रीमती र दुई छोरासहित परिवारका ४ जनालाई पक्राउ गरेको हो । 

उक्त घटनामा हालसम्म लोकबहादुरसहित पक्राउ पर्नेको संख्या ७ पुगेको छ । प्रहरीले लोकबहादुरका भाई नरेश कार्कीलाई भने घटनामा संलग्नता रहेको आशंकामा यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले प्रक्राउ गरेका खड्गबहादुरकै घरमा घटनाको अनुसन्धानका लागि ‘कमाण्ड पोष्ट’ राखेको थियो । सोही कमाण्ड पोष्टबाट प्रहरीले ४९ जनाको प्रहरी टोलीलाई घटनास्थलको सुरक्षा र अनुसन्धानका लागि खटाएको थियो । गाउँमा घरहरू थोरै भएका कारण प्रहरी टोली खड्गबहादुरकै घरमा गोठ सफा गरेर बसेका थिए ।


त्यहाँ प्रदेश १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआजी अरुणकुमार विसी, संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, सिआईबीका डिएसपी रुगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, मादी नगरपालिकाका मेयर विदुरकुमार लिंथेपलगायतको टोली बसेको थियो ।

प्रहरीले घटना भएकै बेलामा खड्गबहादुरसहित उनका परिवारका सदस्यले पनि थाहा पाएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीले सामूहिक हत्याको छैटौं दिन मृतक तेजबहादुरको भतिज नाता पर्ने लोक बहादुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय चैनपुरमा भदौ २१ गते आइतबार सार्वजनिक गरेको थियो । प्रहरीले उक्त घटनामा लोकबहादुरको मात्रै संलग्नता रहेको देखाउँदै मुख्य आरोपी रहेको बताएको थियो ।

पत्रकार सम्मेलनमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण कुमार विसीले लोकबहादुरले नै ५५ बर्षीय तेज बहादुरसहित ८४ वर्षीया पार्वती कार्की, ५४ बर्षीया मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ वर्षीय दिपेन कार्की, ५ बर्षीया गोमा कार्कीको हत्या गरेको जानकारी दिएका थिए ।

हत्या भएकी रञ्जनाको एउटा मोबाइल फेला नपरेका कारण प्रहरीले थप अनुसन्धान बाँकी रहेको भन्ने जवाफ दिएको थियो । प्रहरीले हत्या भएकै दिनदेखि बेपत्ता पारिएको उक्त मोबाइल लोकबहादुरकै घरको बुइगलमा खान तलासी गर्ने क्रममा फुटेको ‘बुफर’ भित्रबाट बरामद गरेको जनाइएको छ । सिम र मोबाइलको कभर भने रञ्जनाको हत्या भएको स्थान नजिकै जंगलमा फेला परेको प्रहरीले जनाएको छ । 

मृतक तेजबहादुरका दुई छोरा रमेश र नरेशले शनिबार काजकिरिया सकेलगत्तै घटनास्थलमा थप अनुसन्धानका लागि बसिरहेको प्रहरीले लोकबहादुरका बुवा रण बहादुरसहित छिमेकी खड्ग बहादुर र उनका परिवारका तीन जना गरी ५ जनालाई पक्राउगरी हत्कडी लगाएर लगेको प्रत्यक्षदर्शी स्थानीयले जानकारी दिए । 

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण कुमार विसीले घटनाको थप अनुसन्धानका लागि चार पाँचजना पक्राउ परेको बताए । डिआइजी विसीले घटनामा उनीहरुको ‘इन्भल्भमेन्ट कति छ’ भन्ने कुराको अनुसन्धान गर्नुपर्ने भएकोले संखुवासभा प्रहरीले मुख्य आरोपी लोक बहादुरका भाई, बुवा र केही छिमेकीहरूलाई पक्राउ गरेको पुष्टि गरे ।

मादी नगरपालिका १ का वडाध्यक्ष खेमनाथ कटुवालले पनि प्रहरीले शनिबार ५ जनालाई पक्राउ गरेर लगेको जानकारी दिए । उनले लोकबहादुरका बुवा रण बहादुर हत्या गरिएका नाबालक दिपेन र गोमा कार्कीको काजकिरियामा बसेका थिए । काजकिरियाको सकिएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको वडाध्यक्ष कटुवालले बताए । 

रगत लागेका थप कपडा बरामद
यता प्रहरी निरीक्षक योगराज खतिवडाको नेतृत्वमा घटनास्थल उम्लिङमै रहेको प्रहरी टोलीले आइतबार लोकबहादुरको घरबाट रगत लागेका थप कपडाहरू बरामद गरेको छ । प्रहरीले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा खानतलासी गरी बाकसभित्र लुकाइएका रगतको टाटो लागेका चिसा कपडाहरू बरामद गरेको जनाइएको छ ।

‘हिजो पनि कपडा बरामद भयो, खुन लागेका कपडा रहेछन् बाकसहुँदी’ वडाध्यक्ष कटुवालले भने, ‘कोही भिजेका कपडा थिए, झोलामा राखेका, ती पनि बरामद भयो लोकबहादुरकै घरमा ।’
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x