कूटनीति

नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरह सेवा सुविधा दिन आग्रह

श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्रीबीच भेट, के विषयमा भयो कुराकानी ?

इकागज |
माघ २०, २०७९ शुक्रबार १३:५ बजे

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता भएको छ । शुक्रबार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको श्रममन्त्री अर्यालले बताए । 

मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको उनले बताए । नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा सीप सिकाएर पठाउने कुरामा छलफल भएको उनको भनाइ छ । 


त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले  नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरू मलेसिया गएको र त्यसमध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए । ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उनको भनाइ छ । 

उनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकुलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको बताए । कामदारहरूका लागि ज्यालामा पनि वृद्धि गर्नेगरी नीति बनाएको उनको भनाइ छ । 

तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 
 


Author

थप समाचार
x