कूटनीति

बीआरआईमा चीनको चासो छ : गृहमन्त्री श्रेष्ठ

इकागज |
असार १७, २०८० आइतबार १६:५७ बजे

काठमाडौँ- पाँच दिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज (आइतबार) स्वदेश फर्किएका छन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलन बोल्दै चीन भ्रमण फलदायी भएको बताए । उनले भ्रमणका क्रममा चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको जानकारी गराए ।


मन्त्री श्रेष्ठले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सकारात्मक रहेको बताए । उनले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको पनि उल्लेख गरे ।

उनले व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकामा आवतजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताए । चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताए । उनले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यान्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने भनाइ राखे ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभान्वित हुने विश्वास लिए । उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताए । उनले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाडौँ रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान सुरु गर्न आग्रह गरेको जानकारी दिए ।

उनले भैरहवा भन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको देखिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार चीन भ्रमणमा गएका थिए ।


Author

थप समाचार
x