कूटनीति

भारतीय दूतावासमा मनाइयो ‘असार पूर्णिमा’

इकागज |
असार १८, २०८० सोमबार २१:५१ बजे

काठमाडौँ - भारतीय राजदूतावास, काठमाडौँले ‘असार पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा आज दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरेको छ ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौँदेखि जोड्ने बन्धन मध्येको एक भएको बताउँदै बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । 


दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएको शिक्षाको महत्त्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरूले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिविम्बित गरेको बताएका थिए । 

कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै लुम्बिनी विकास कोषका पदाधिकारीहरूको सहभागिता थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेद परिसंघ प्रतिनिधिका रूपमा उपस्थित थिए । 

बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिएको पहिलो उपदेशलाई असार पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ । यसलाई धर्म चक्रको पहिलो फन्कोका रूपमा चिनिन्छ । सो उपदेशमा भगवान् बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे बताएका थिए । 

कार्यक्रममा महायाना संघ र थेरावडा संघले भगवान् बुद्धको प्रार्थना गरेका थिए । तत्पश्चात् चार बौद्ध सूत्रको प्रार्थना गरिएको थियो । अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेदले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्नुका साथै सो कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए । 

कार्यक्रममा लुम्बिनी गुम्बा क्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताबारे तयार पारिएको भिडियो पनि प्रस्तुत गरिएको थियो । सो अवसरमा भारत र नेपालका विभिन्न धार्मिक महत्त्वका बौद्ध स्थलहरूको प्रदर्शनी पनि राखिएको थियो ।

सन् २०२२ को मे महिनामा बुद्ध पूर्णिमाका अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्तरूपमा सो केन्द्रको शिलान्यास गरेका थिए । रासस


Author

थप समाचार
x