कूटनीति

नेपालमा युरोप र अमेरिकाको चासो बढ्दै गएको छ : पूर्वपरराष्ट्रमन्त्री खड्का

इकागज |
असार २५, २०८० सोमबार १९:२५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका सांसद एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले देशको राजनीति परिस्थिति सुदृढ नभइ परराष्ट्र नीति बलियो हुन नसक्ने बताएका छन् । सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशको राजनीति स्थायी नभएसम्म परराष्ट्र सम्बन्ध बलियो हुन नसक्ने जिकिर गरे । उनले राष्ट्रिय एकताका रूपमा परराष्ट्र नीतिहरू अघि बढाउन जरुरी रहेको बताए । परराष्ट्र मन्त्रालयले प्रत्येक दुई हप्तामा परराष्ट्र सम्बन्धित गतिविधिलाई जानकारी गराउनुपर्ने उनकाे भनाइ छ । उनले नेपालमा युरोप र अमेरिकाको चासो बढिरहेको पनि उल्लेख गरे ।


उनले भने, ‘म मन्त्री हुँदा प्रेसका लागि प्रेस मिट हरेक दुई हप्तामा गर्दथेँ, अहिले के छ ? त्यसको अवस्था । नेपालमा युरोप र अमेरिकाको चासो भयंकर बढिरहेको छ । त्यसलाई कसरी भारत र चीनसँग समस्या नपर्ने गरी अघि बढाउने ? त्यो बारेमा सोच्नुपर्छ ।’

सांसद खड्काले छिमेकी देशहरू चीन र भारतसँग सम्बन्ध नबिगारीकन अन्य देशहरूसँगको सम्बन्ध विस्तार गर्नुपर्ने बताए ।  


Author

थप समाचार
x