कूटनीति

रूस सेनामा नेपालीहरू भर्ती भए/नभएबारे दूतावासलाई खोजी गर्न भनेका छौं : परराष्ट्रमन्त्री

इकागज |
असार २५, २०८० सोमबार २०:१० बजे

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रूस सेनामा नेपालीहरू भर्ती भएको वा नभएको भन्ने कुरा सरकारलाई जानकारी नरहेको बताएका छन् ।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आए पनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको बताए । उनले यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको बताए ।


‘रसियन सेनामा नेपाली भर्ना सम्बन्धमा अहिले बाहिर मिडियामा आएको कुरालाई लिएर मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिएका छौँ,' उनले भने, 'यसमा कुनै तथ्य, केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आए पनि वास्तविक तथ्य, यो मान्छे, यो ठेगानाको यसरी यो सेनामा भर्ना भएको छ भन्ने किसिमको आइसकेको छैन । यसमा अध्ययनको चरणमा छौँ ।’

मन्त्री साउदले रूस सेनामा नेपालीहरू भर्ती भएको विषय सरकारको अध्ययनको चरणमा रहेको बताए । 


Author

थप समाचार
x