कूटनीति

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैन : परराष्ट्रमन्त्री साउद

इकागज |
भदौ २१, २०८० बिहीबार १७:३ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको एजेण्डा तय भइनसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणको एजेण्डाको अन्तिम टुंगो लागि नसकेको बताएका हुन् । उनले भ्रमणको एजेण्डाको सम्बन्धमा द्विपक्षबीच छलफल चलिरहेको पनि जिकिर गरे ।


मन्त्री साउदले भ्रमणका क्रममा ठूलो लिष्ट बोकेर जाने भन्दा पनि डेलिभरीयोग्य परियोजना र मुद्दाहरूलाई अगाडि बढाउने प्रस्ताव लिएर जाने बताए । उनले चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेण्डा बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए । सोही विषयहरूमा सम्झौता हुने तयारी भएको उनको भनाइ छ ।

त्यस्तै कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा पनि छलफल चलिरहेको उनको भनाइ छ ।

उनले भ्रमणको एजेण्डाको सम्बन्धमा उपयुक्त समयमा जानकारी गराइने पनि स्पष्ट पारे ।

 


Author

थप समाचार
x