कूटनीति

रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री साउद

इकागज |
फागुन १५, २०८० मंगलबार १८:२३ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि कूटनीतिक पहल भइरहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा रुसी सेनामा रहेका नेपालीका परिवारको ज्ञापन पत्र बुझ्दै मन्त्री साउदले रुसी सेनामा रहेका नेपालीहरूलाई सकुशल स्वदेश फर्काउने दायित्व सरकारको भएको भन्दै कूटनीतिक पहल भइरहेको बताएका हुन् ।


रुसी सेनामा रहेर ज्यान गुमाएका नेपालीको पार्थिव शरीरलाई नेपाल ल्याउन पनि छलफल र कुराकानी भइरहेको उनले बताए । उनले रसियन सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गराउन कूटनीतिक संवादमा रहेको जानकारी दिए । रसियन सेनामा भएका नेपालीका दुई सयभन्दा बढी परिवारले परराष्ट्रको कन्सुलरमा आवेदन दिएको भन्दै मन्त्री साउदले अन्यलाई पनि अनलाइनबाटै आवेदन दिन आग्रह गरे । उनले सरकारले मान्यता नदिएका स्थानमा जान नदिन पनि आग्रह गरे ।

रुसी सेनामा रहेका नेपालीका आफन्त धादिङ गोर्खाकी कविता कुमालले रुसी सेनामा रहेका आफन्तलाई नेपाल फर्काउन आग्रह गरिएको जानकारी दिइन् । मन्त्रीको कुरा सुन्दा आशावादी रहेको उनको भनाइ छ ।

रुसी सेनामा रहेका नेपालीका परिवारले आफ्ना आफन्तजनको अवस्था सार्वजनिक गर्न, मृतक तथा रुसी सेनामा रहेका नेपालीहरूलाई छिटोभन्दा छिटो स्वदेश फर्काउनका लागि पहल गर्न मन्त्री साउदलाई ज्ञापन पत्र बुझाएका हुन् ।  


Author

थप समाचार
x