कूटनीति

टिप्पणी

देउवालाई दिल्लीमा ‘रेड कार्पेट’ ओछ्याउँदै बीजेपी

विजय चौथाइवालेको दैलो-दैलो दौडधुपदेखि राखी कूटनीतिसम्मले के अर्थ राख्छ ?

चन्द्रशेखर अधिकारी |
भदौ ८, २०७८ मंगलबार १८:३७ बजे

काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश मामिला 'अब्बल बनाउने' आधार तय गर्दै आएका भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौँमा राजनीतिक भेटघाटमा व्यस्त छन् । सिमसिमे पानीलाई समेत बेवास्ता गर्दै उनी नेताको घर-घर पुगिरहेका छन् । अनेकन् अड्कलबाजी गर्नेहरूका लागि उनको यो भ्रमण गफ र आलेखको विषयसमेत बनेको छ । 

उनलाई निम्ता गर्नेदेखि राखी बाँध्‍नेसम्मको चाँजो बालुवाटारबाट नै भएको हो । यद्यपि निम्ता नेपालका अन्य राजनीतिक दलहरूको पनि थियो । हुन त, सत्तारूढ कांग्रेसको त्यस्तो मामिला हेर्ने विभाग सक्रिय छैन । सभापति मातहत वा उनका सहयोगीमार्फत त्यसमा कताकति काम भएको हुन्छ । अनि लहडमै चल्छ । अन्य मुलुकमा दलको होइन, नेताको यस्तो सचिवालय हुन्छ, जहाँ सबै विषयको अध्ययन र बहस हुन्छ ।


त्यही अध्ययनको बाटोमा लागेको बीजेपीले छोटो समयमा भारतमा गरेको प्रगतिलाई कम आँकलन गर्न मिल्दैन । त्यही दलको एक नेता यतिबेला काठमाडौँमा प्रभावशाली नेता भेट्दै आफैँ ट्‍वीट गरिरहेका छन् । उनी पत्रकारसँगको अन्तरक्रियाबाट टाढा रहेर नेतासँगको भेटघाटलाई जोड दिइरहेका छन् । उनले एकतर्फी सूचना दिइरहेका छन् । उनले अझै केही नेता भेट्न बाँकी नै छ । यो टिप्पणी तयार पार्दासम्म उनले माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतलाई भेटेका छैनन् । उनले भेट्ने सूचीमा उनीहरू पनि छन् ।

भारतले आफ्नो छिमेकमा जुनसुकै कारणले भए पनि अवस्था परिवर्तन भएपछि शक्ति आँकलन गर्न यस्तै नेताहरू पठाउने र कार्यकारी प्रमुखलाई भ्रमणमा बोलाउने गर्छ ।

चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटे । महन्थ ठाकुर, अन्य सत्तारूढ नेताहरूसँग पनि उनले भेटघाट गरे । सबै भेटघाटपछि उनले ट्वीट गरेका छन् । उनी आइतबार काठमाडौँ ओर्लेदेखि नै भेटघाटमा व्यस्त छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी र त्यसलगत्तै मोदीको नेपाल भ्रमण गराउने पहलकदमीको विषयमा पनि छलफल भएको अड्कलबाजी भएका छन् ।

बालुवाटार उच्च स्रोतका अनुसार दसैँ अगावै प्रधानमन्त्री देउवालाई दिल्लीमा ‘रेड कार्पेट’ ओछ्याउने विषयमा लामो छलफल भएको थियो । त्यो विषयमा छलफल हुँदा नेपाल र भारतबीचको सहकार्यका सबै पक्षबारे पनि छलफल भएको बालुवाटार स्रोतले बतायो । त्यही प्रक्रिया अघि बढाउन राजदूत र परराष्ट्रसचिव नेतृत्व दुई पक्षीय संयन्त्रको बैठक बसिसकेको छ । राजदूत विनयमोहन क्‍वात्राले पनि चुपचाप यसमा काम गरिरहेका थिए नै ।

पछिल्लो परिस्थितिमा यहाँको राजनीतिक दलहरूको अवस्था के छ भनेर बुझ्‍न नै उनीहरूको उद्देश्य रहन्छ । यो गठबन्धन चुनावसम्म पनि नजाने देखेको भारतले नेताहरूको मनस्थिति बुझ्‍न खोज्‍नु स्वाभाविक पनि हो । सोही कारण उनको यो भ्रमण भएको परराष्ट्रका एक अधिकारीले सुनाए । हुन त, भारतीय संयन्त्रहरूमार्फत केलाउने काम भएकै छन् । तर, प्रधानमन्त्री मोदीकै चाहनाअनुरूप काठमाडौँमा यो भेटघाट भइरहेको दूतावास अधिकारीले स्वीकार गरेका छन् । चौथाइवालेले आफ्नो टिमसहित काठमाडौँ ओर्लेका हुन् । 

हुन पनि अफगानिस्तानमा अलमलमा परेको भारतीय नेतृत्व यतिबेला अन्य छिमेकसँग स्पष्ट हुन खोजेको देखिन्छ । त्यो सँगै भारत र नेपालको तर्फबाट एक अर्का मुलुकमा भ्रमण पनि गराउने उद्देश्य छ । त्यसकै लागि चौथाइवाले नेपाल आएका हुन्, कूटनीतिक स्रोतले बतायो । उनले नेपालमा रहँदा गरेको भेटघाटको अर्थ पनि त्यस्तै देखिन्छ । 

खासगरी उनले मोदीको भ्रमण कूटनीतिलाई अब्बल पार्न काम गर्दै आएका थिए । त्यही तन्तु यहाँ जोड्न खोजेका हुन् या झन् कमजोर बनाउन खोजेका हुन्, त्यो उनी दिल्ली फर्केपछि त्यहाँबाट आउने प्रतिक्रियाले स्पष्ट पार्ला । 

नेपालको पटक-पटक भ्रमण गरिसकेका मोदी यहाँ राजनीतिक स्थायित्व हुने सम्भावना देखे पुनः आउनेछन् तर त्यसअघि उनले देउवालाई नयाँ दिल्लीमा 'रेड कार्पेट' ओछ्याउन आवश्यक रहेको भारतले ठान्दछ ।

स्रोतका अनुसार चौथाइवालेले त्यही लाइनमा कुराकानी गरिरहेका छन् । त्यो भ्रमणमा हुने एजेन्डामा समेत उनी प्रवेश गरेका कारण सत्तारूढ नेताहरू भेटपछि खासै खुसी देखिएका छैनन् । उनीहरूको सार्वजनिक तस्बिरले पनि त्यस्तो देखिन्छ नै ।

मोदीको पछिल्लो नेपाल भ्रमण हुँदा त्यसको तयारीमा चौथाइवाले आएका थिए । मोदीको भाषणमा ‘इनपुट’ दिने कामसमेत चौथाइवालेले नेपालमा रहेर गरेका थिए । खासगरी उनले पार्टीको लाइनबाट प्रधानमन्त्री मोदीले भारतीय प्रवासीका लागि के-के कुरा राख्‍ने भनेर तय गर्ने गरेका छन् । उनी छिमेक सम्बन्ध भन्दा पनि छिमेकमा रहेका आफ्ना नागरिकबारे नियाल्ने गर्छन् ।

प्रधानमन्त्री मोदीको कुनै मुलुकमा भ्रमणको तय भएपछि उनी एक साता अगावै त्यहाँ पुग्‍ने र आफ्ना नागरिकको व्यवस्थापन गर्ने गर्छन् । विश्वभर भारतीय नागरिक छरिएका छन् । नेपालमा पनि भारतीय नागरिकको उपस्थिति बाक्लो छ । उनले खासगरी आफ्ना नागरिकको कुरा सुन्‍ने र सरकारको नाडी छाम्‍ने काम गर्छन् । उनी देउवाको नाडी छाम्‍न आएका हुन् । हुनत् देउवा पाँचौ पटक प्रधानमन्त्री भएका व्यक्ति हुन् । भारतलाई उनको आनीवानी सबै थाहा छ । यद्यपि यो गठबन्धनको धरातल नजिकबाट नियाल्न भारतले आवश्यक ठानेर नै उनी यहाँ आएका हुन् । 

मोदीको जनकपुर भ्रमण हुँदा चौथाइवालेको चासो र सक्रियता निकै आशालाग्दो थियो । तर पछि उनले नेपालसँगको सम्बन्धलाई औपचारिकतामा सीमित राखेको देखिन्छ । चौथाइवालेले नेता पत्रकार र नागरिक अगुवाहरूसमेत भेट्छन् । उनी अध्ययन गर्छन् र के भन्दा मोदीको आर्कषण बढ्छ भन्नेमा ध्यान दिएर आफ्नो कुरा राख्छन् । उनले पार्टी सामाजिक सञ्‍जालसमेत हेर्ने गरेकाले त्यसमा उनी बढी अभ्यस्त पनि छन् ।

मोदीले पहिलो पटक नेपाल भ्रमण गर्दा सदनमा नेपाली भाषा प्रयोग गर्नु, वानेश्‍वर, गौशाला कालीमाटीमा ओर्लेर सर्वसाधारणसँग हात मिलाउने, थमथमाउने काममा उनकै दिमाग चलेको भारतीय अधिकारीहरूले सुनाएका थिए । त्यतिबेला चौथाइवाले विदेश विभाग प्रमुख थिएनन् । तर बाहिर जाँदा मोदीले के गर्ने उनैले तत्कालीन विदेश मामिला हेर्ने राम माधवसँगै रहेर उनले हेर्थे, एक बीजेपीकै नेताहरू सुनाउँछन् ।

यहाँ परिवर्तन जुनसुकै कारणले भए पनि नेतृत्वको नाडी र परिस्थिति बुझ्‍न'फिल्ड'मा नै उत्रनुपर्ने हुनाले उनी आएका हुन् ।

यतिबेला नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने उद्देश्यले नै चौथाइवालेको भ्रमण भएको हो । त्योसँगै प्रधानमन्त्रीलाई आफ्नो मुलुकको भ्रमण गराएर दिल्लीमा नेपाल-भारत सम्बन्धबारे छलफल गर्ने अर्को चाहना पनि देखिन्छ । लामो समय नजाने अप्राकृतिक गठबन्धनबारे भित्रैदेखि सबै जानकारी लिन बीजेपीले चौथाइवालेलाई काठमाडौँ पठाएको टिकाटिप्पणी पनि कूटनीतिक वृत्तमा छ ।

भारतले आफ्नो छिमेकमा जुनसुकै कारणले भए पनि अवस्था परिवर्तन भएपछि शक्ति आँकलन गर्न यस्तै नेताहरू पठाउने र कार्यकारी प्रमुखलाई भ्रमणमा बोलाउने गर्छ । शक्तिशाली र कमजोर आँकलन गर्न पनि भारतले यस्तो कार्य गर्छ नै । यहाँ पनि यतिबेला को बलियो भन्नेमा भारत नै अलमलमा छ । यहाँ परिवर्तन जुनसुकै कारणले भए पनि नेतृत्वको नाडी र परिस्थिति बुझ्‍न फिल्डमा नै उत्रनुपर्ने हुनाले उनी आएका हुन् । 

बीजेपीका तत्कालीन अध्यक्ष अमित शाहको माध्यमबाट राजनीतिमा जोडिएका चौथाइवाले माइक्रोबायोलोजीका पीएचडी हुन् । सन् २०१४ मा भएको लोकसभा चुनावमा मोदीको चुनावी रणनीति बनाउने टिममा रहेर काम गरेका उनी यतिबेला यस क्षेत्रलाई नियालिरहेका छन् । खासगरी उनले मोदीको भ्रमण कूटनीतिलाई अब्बल पार्न काम गर्दै आएका थिए । त्यही तन्तु यहाँ जोड्न खोजेका हुन् या झन् कमजोर बनाउन खोजेका हुन्, त्यो उनी दिल्ली फर्केपछि त्यहाँबाट आउने प्रतिक्रियाले स्पष्ट पार्ला । 
 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x