रोग र उपचार

तनहुँमा सात हजार डेङ्गु सङ्क्रमित

इकागज |
मंसिर ५, २०८० मंगलबार १४:३९ बजे

फाइल फोटो

तनहुँ - तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । 

डेङ्गुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरूमा बिरामीको चाप दैनिक बढ्दै गएको छ । दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५डेङ्गु सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी  दिए । उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेङ्गुबाट सङ्क्रमित छन् । १४ वडा रहेको व्यास–१ मा एक हजार पाँच सय ८२, वडा नं २ मा एक हजार तीन सय ९२, वडा नं ४ मा एक हजार ३७, वडा नं ३ मा छ सय ५२ तथा वडा नं ५ मा दुई सय ७२ डेङ्गु सङ्क्रमित रहेका छन् । 


त्यसैगरी व्यास–१० मा दुई सय ६, वडा नं ११ मा एक सय ७५, वडा नं ६ मा ९६, वडा नं १३ मा ९१, वडा नं ९ मा ८३, वडा नं ७ मा ७९, वडा नं १२ मा ७४, वडा नं १४ मा ३७ र वडा नं ८ मा १४ डेङ्गु सङ्क्रमित छन् । चाडपर्वको समयमा डेङ्गु सङ्क्रमणले जनजीवन प्रभावित बनाएको व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए । डेङ्गुबाट जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरि परि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए । चिकित्सकको परामर्शअनुरुप औषधी सेवन गर्न, झोलिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उनले सुझाव दिए । 


Author

थप समाचार
x