रोग र उपचार

नेपालमा एचआइभी एड्स संक्रमण घट्दै

इकागज |
मंसिर १५, २०८० शुक्रबार १४:११ बजे

सांकेतिक तस्विर

काठमाडौँ- पछिल्लो समयमा नेपालमा एड्स संक्रमितको संख्या घट्दै गएको छ । नेपालमा दैनिक सरदर एक जनामा एचआईभी एड्स संक्रमित हुने गरेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

कुनै समय नेपालमा  एचआईभीलाई भयावहको रुपमा लिने गरिएको थियो । यसबाट पनि ज्यान गुमाउनेको संख्या उत्तिकै थियो । अहिले भने नेपालमा देखिने संक्रमितको संख्या घट्दै गएको छ ।


यौनरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा सन् २०२२ मा मात्रै ४४८ जना संक्रमित भएका छन् । संक्रमितको संख्या घटेसँगै मृत्युमा पनि कमी आएको छ । यसै वर्ष ५ सय भन्दा कम मानिसले ज्यान गुमाएका छन् ।

केन्द्रमा संकलन गरिएका तथ्यांक अनुसार यस वर्षमा ५२ जना बालबालिकामा एचआईभी संक्रमण भएको अनुमान गरिएको केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेले इकागजलाई जानकारी दिए ।

उनका अनुसार २०७९ मंसिरको अन्तिमसम्ममा नेपालमा २३ हजार २ सय ९३ जना अर्थात ७८ प्रतिशत संक्रमितहरुले एन्टीरेट्रोभाइरल (आरभी) उपचार लिइरहेका छन् ।

‘नेपालमा एचआइभी संक्रमितको संख्या घट्दो क्रममा रहेको छ,’ उनले भने,’ मानिसहरूमा चेतना अभिवृद्धिको कारण पनि घट्नुको मुख्य कारण हो । यसको रोकथाम, हेरचाह र उपचार व्यवस्था मिलाउने तयारीमा सरकार लागिरहेको छ । ’ धेरै मानिसहरू आफ्नो स्वास्थ्यप्रति सचेत भएकाले रोग घट्दै गएका छन् ।

अहिले पनि बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित रहेको पाण्डेले जानकारी दिए । सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको उनले बताए ।

‘बागमती प्रदेशमा जनसंख्या बढी रहेकाले पनि संक्रमितको संख्या बढेको हो,’ उनले अगाडि थपे,’ मानवीय व्यवहारमा परिवर्तन नआउनुमा लागू पदार्थ दुर्व्यसनी, असुरक्षित यौन सम्पर्क र सिरिन्जको प्रयोग पनि मुख्य कारण हो ।‘

एचआइभी संक्रमित महिला र पुरुष बराबर संख्यामा देखिएको पाण्डेले जानकारी दिए । २५ देखि ३९ वर्ष उमेर समूहका मानिसमा बढी देखिएको छ ।

सन् २०३० सम्मका ९५-९५-९५ लक्ष्यहरू राखेको छ । ९५ प्रतिशत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको एआरभी औषधी उपचारमा पहुँच हुने र ती औषधी खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुनेछ । मुलुकमा भाइरल लोड परीक्षण गर्ने मेसिन ८ वटा छ । सात प्रदेशमा भाइरल लोड परीक्षण केन्द्र छन् ।

नेपालमा एचआईभीको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरू, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरू, वैदेशिक रोजगारीमा गएकाहरू र जेलमा रहेका कैदीबन्दीहरूसमेत एचआईभीको उच्च जोखिममा छन् ।

नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । एचआईभीको वर्तमान अवस्थालाई केन्द्रीकृत महामारीको रुपमा परिभाषित गरिन्छ । एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणदर ५ प्रतिशत भन्दा बढी छन् । सामान्य जनसंख्यामा एचआईभी संक्रमणदर १ प्रतिशत भन्दा कम हुनु हो ।

एड्स तथा एचआईभीको उच्च प्रभावित क्षेत्रहरू तराईको राजमार्ग जोडिएका जिल्लाहरू छन् । सुदुरपश्‍चिमका पहाडी जिल्लाहरू, पोखरा उपत्यका र काठमाडौँ उपत्यका छन् । 

एचआईभी संक्रमितहरूलाई ८३ वटा एआरटी केन्द्रहरू स्थापना गरी ४५ वटा एआरभी केन्द्रहरूबाट निःशुल्क औषधि वितरण भइरहेको छ । हाल ४४ वटा जिल्लामा सञ्‍चालित छन् ।

विश्‍वभरमा सन् २०२० को अन्त्‍यसम्ममा ३ करोड ७७ लाख  एचआईभी संक्रमित थपिएका छन् । सन् २०२१ युएनएड्सका तथ्यांकले उक्त कुराको जानकारी दिएको छ ।

सन् २०२० मा १५ लाख नयाँ एचआईभी संक्रमण भएको अनुमान गरिएको थियो । जुन सन् २०१० को तुलनामा ३१ प्रतिशतले घटेको हो । सन् २०१० मा २१ लाख नयाँ संक्रमित थिए । 

त्यसैगरी युएनएड्सकाअनुसार सन् २०२० मा १ लाख ५० हजार बच्चामा एचआईभी पुष्‍टि भएको थियो । जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको हो । सन् २०१० मा ३ लाख २० हजार बच्चामा नयाँ संक्रमण भएको अनुमान थियो । 

एड्सको कारणले सन् २०२० मा मात्रै करिब ६ लाख ८० हजार व्यक्तिहरूको मृत्यु भएको थियो । जुन सन् २०१० को तुलनामा ४८ प्रतिशतले कम भएको हो । सन् २०१० मा १३ लाख व्यक्तिहरूको एड्सको कारणले मृत्यु भएको अनुमान थियो ।

 

 


Author

थप समाचार
x