रङ्गमन्च

दर्शकको मागपछि तीन दिन थपियो ‘एउटा सपनाको अवसान’ मञ्चन

इकागज |
बैशाख ११, २०८० सोमबार १०:१९ बजे

काठमाडौँ - दर्शकको मागपछि अनुप बराल निर्देशित नाटक ‘एउटा सपनाको अवसान’को मञ्चन अवधि तीन दिन लम्बिएको छ । निर्माता गोविन्द पराजुलीले धेरै दर्शकले नाटक हेर्न नपाएको गुनासो गरेपछि तीन दिन थप्ने निर्णय गरेको जानकारी गराए ।

‘पछिल्ला दिनमा दर्शकहरू टिकट नपाएर फर्किएको देखेपछि तीन दिनलाई थप्ने निर्णय गरेका छौँ । त्यसैले सोमबारको बिदामा पनि नाटक मञ्चन गर्ने निर्णय गरेका छौँ । आशा छ यो तीन दिनमा हेर्न चाहाने सबैले नाटक हेर्न पाउनुहुनेछ,’ निर्माता गोविन्द पराजुलीले भने । गोविन्दले अन्तिम दिन अर्थात् बुधबार १ बजे र ५ बजे गरी दुई सो मञ्चन हुने र योसँगै नाटक मञ्चनले बिट मार्ने जानकारी गराए ।


नाटकले सपनाको आकर्षणले मानिसलाई  यन्त्रमा रुपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ । ‘द डेथ अफ सेल्सम्यान’ को नेपाली अनुवादमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, उत्पल झा, विकास जोशी, रोयदीभ श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । नाटक चैत १० गतेदेखि सुरु भएको थियो ।नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन प्रडक्सनका लागि गोविन्द पराजुलीले निर्माण गरेका हुन् ।


Author

थप समाचार
x