रङ्गमन्च

रंगकर्मी प्रचण्ड मल्लको निधन

इकागज |
पुस २, २०७८ शुक्रबार १६:१० बजे

फाइल तस्बिर

काठमाडौँ -  लेखक तथा नाट्यकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । रंगकर्मी एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा मल्लको निधनको खबर पुष्टि गर्दै आजै आर्यघाटमा उनको अन्तिम संस्कार गरिने जानकारी गराएका छन् ।

अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमै राखिने पनि शर्माले जानकारी गराएका छन् । १० वर्षको उमेर वीरगञ्जमा रामलीला देखेपछि अभिनयमा लोभिएका प्रचण्ड मल्लले ३ सयजति नाटकमा अभिनय, लेखन तथा निर्देशन गरेका छन् । उनका आधा दर्जन बढी रंगमञ्चसम्बन्धी पुस्तक पनि प्रकाशित छन् । 


वीरगञ्जको त्रिजुद्ध स्कुलमा एक दिन रामलीला हेर्न पुगेपछि प्रचण्ड मल्ल नाटकतर्फ आकर्षित भएका थिए । पढ्नमा रुचि नदिएर अभिनय र नक्कलमा रमाएको देखेपछि उनलाई उनका ठूलो दाजु सुरेन्द्र मल्लले बालकृष्ण समकहाँ पुर्याएका थिए । नेपाल कला मण्डल स्थापना गरेर रंगकर्मलाई सक्रिय बनाउने मन्सुबा पालेका समको छत्रछायाँमा नै प्रचण्डको नाट्ययात्रा अगाडि बढेको थियो । उनले सुरुवाती चरणमा समकै नाटकमा अभिनय गर्दै आफूलाई तिखारेका थिए । उनले समकै निर्देशनमा सबैभन्दा पहिले ‘अमरसिंह’ शीर्षकको नाटकमा अभिनय गरेका थिए । 

त्यसयता उनले समकै निर्देशनमा ‘भीमसेनको अन्त्य’, ‘प्रल्हाद’, ‘राजेन्द्रलक्ष्मी’ आदि नाटकमा अभिनय गरेका थिए । सुरुमा आर्कियोलोजी गार्डेनमा काम गरिरहेका प्रचण्ड मल्ल समकै आग्रहमा नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिरे बन्न आएका थिए । प्रतिष्ठानले सुरुमा चार विधामा तालिम सुरु गर्दा प्रचण्डले अभिनय विधामा बालकृष्ण समलाई सघाउने गरेका थिए । तरपछि मल्लले साजसज्जा र लाइटिङमा पनि आफूलाई अब्बल साबित गरेका थिए । 

२०२४ सालमा आर्ट एन्ड थिएटर पढ्न रुसको मस्को गएका उनले त्यहाँबाट फर्किएपछि नाटकका सम्पूर्ण विधामा योगदान गरेका थिए । उनले लेखन तथा निर्देशन गरेकामध्ये ‘गंगालालको चिता’, ‘तिलगंगा’ आदि चर्चित भएका थिए । 

मञ्च साजसज्जामा महत्वपूर्ण योगदान गरेका मल्लले राष्ट्रिय नाचघर, प्रज्ञाप्रतिष्ठान, राष्ट्रिय सभागृह, पुलिस क्लब, सेनाको मञ्च तथा भृकुटीमण्डपको मञ्चसमेत उनले नै निर्माण गरेका थिए । उनका ‘नेपाली रंगमञ्च’, ‘भातृप्रेम’, ‘तिलगंगा ः ऐतिहासिक नाटक संग्रह’ ‘पश्चाताप’ आदि कृति प्रकाशित छन् । 


Author

थप समाचार
x