सम्पादकीय

सम्पादकीय

कीर्तिपुरबाट क्रिकेटमा लज्जास्पद कीर्तिमान

इकागज |
पुस १९, २०७९ मंगलबार १७:२४ बजे

नेपाल क्रिकेट संघ (क्यान) ले गत जेठ ४ गते निकै नै महत्वाकांक्षी परियोजनाका रूपमा रहेको नेपाल टी-ट्वान्टी लिगको घोषणा गर्‍यो । यो सार्वजनिक गर्ने क्रममा क्यानले लिगको ‘कमर्सियल स्ट्राटेजिक राइट्स’ भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई ८ वर्षका लागि ३३ करोड नेपाली रूपैयाँमा बेचेको जानकारी गराएको थियो । नेपाल टी-ट्वान्टीको घोषणा गरिरहँदा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त एक मात्र आधिकारिक क्रिकेट लिग हुने घोषणा गरेका थिए ।

अध्यक्ष चन्दले यसअघि नेपालमा निजी क्षेत्रबाट नियमित आयोजना भइरहेका फ्रेन्चाइज्ड लिगलाई मान्यता नदिने जनाएका थिए । अध्यक्षको घोषणापछि क्यानले आयोजना गर्ने लिग निकै नै व्यवस्थित हुने तथा मिलेमतो ‘फिक्सिङ’ जस्ता कुराबाट टाढै रहने अपेक्षा गरिएको थियो । मिलेमतो वा ‘फिक्सिङ’ विश्वभरकै लागि टाउको दुखाइको विषय रहँदै आएको छ । यही कारण फुटबलका केही उम्दा खेलाडी ‘फिक्सिङ’ को दाग बोक्दै असमयमै खेल जीवन अन्त्य गर्न बाध्य भएका थिए ।


तर, यस्ता तमाम अपेक्षामा तुषारापात हुने गरी क्यानले नेपाल टी-ट्वान्टी लिगको सुरुवात गर्यो । लिगको मिति तीन पटकसम्म मात्र परिवर्तन गरिएन, खेलाडीको अक्सन पनि बन्द कोठाभित्र गरियो । लिग नजिकै आउँदै गर्दा कान्तिपुर क्यापिटल्सले आफ्नो सहभागिता नहुने जनायो । पहिला त धेरैलाई लिग हुँदैछ भन्‍ने पनि थाहा भएन । सर्वसाधारणलाई त थाहा भएन भएन स्वयं खेलाडी पनि लिग हुने/नहुने कुरामा अन्यौल थिए । विदेशबाट लिग खेल्न खेलाडी झरिसकेका थिए तर खेल्ने हो कि होइन, अन्यौलमा थिए ।

क्यानले नेपाली खेलाडीतर्फ समूह ‘ए’ मा रहेकाले १५ लाख, समूह ‘बी’ मा रहेकाको १० र समूह ‘सी’ मा रहेकाको ५ लाख पारिश्रमिक पाउने घोषणा गरेको थियो ।
क्यान र सेभेन थ्री स्पोर्टसबीच भएको सम्झौता अनुसार लिग सुरु हुनुभन्दा एकदिन अगाडि नै खेलाडीहरूलाई ५० प्रतिशत रकम भुक्तानी गरिसक्नुपर्ने थियो । तर, लिग पुस ९ गतेबाट सुरु भएपनि पुस १९ गते अर्थात मंगलबारसम्म पनि अधिकांश टिमका खेलाडीहरूले पारिश्रमिक पाएका थिएनन् । जसका कारण काठमाडौँ नाइट्स र विराटनगर किंग्सका खेलाडीहरूले मंगलबार लामो समयसम्म टसका लागि मैदान प्रवेश गरेनन् ।

यी विवादसँगै क्यानकै एक सदस्यले नेपाली क्रिकेट दलाल र तस्करको कब्जामा गएको दाबी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखे । त्यतिमात्र नभएर लिगमा कमेन्ट्री गरिररहेका एक कमेन्टेटरले खेलका दौरान ‘स्पट फिक्सिङ’ भइरहेको आरोप लगाउँदै कमेन्ट्री नगर्ने बताए । अर्कोतर्फ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले समेत आफ्ना एक खेलाडीलाई फिक्सिङ गर्न प्रस्ताव गरिएको कुरा सार्वजनिक गरे । 
तर, यस्ता विषयमा भने क्यानले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

चतुरबहादुर चन्द क्यान अध्यक्ष भएदेखि नै क्रिकेट निरन्तर विवादमा छ । क्यान नेतृत्वले खेलाडी न प्रशिक्षक कसैलाई सम्हाल्न सकेको देखिँदैन । जबकि चतुरबहादुर चन्द नेतृत्वको क्यान लामो प्रतिबन्धपछि अस्तित्वमा आएको थियो र कमसेकम यो नेतृत्वले पुराना क्यान सारथिको गल्तीबाट सिक्ने अपेक्षा गरिएको थियो । 

क्यान २०७३ सालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा पर्‍यो । आईसीसीले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा २०७६ असोजमा सम्पन्न विशेष साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष निर्वाचित भए । 

लगत्तै आईसीसीले क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्‍यो । क्यानमाथिको प्रतिबन्ध फुकुवा भएको भोलिपल्टै पारस खड्काले कप्तानी छाड्ने घोषणा गरे । पारसले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै कप्तानी छाडे पनि क्यान पदाधिकारीहरूसँगको विवादका कारण उनले सो निर्णय लिएको अधिकांशको बुझाइ थियो । 
पारसपछि २०७६ कात्तिकमा ज्ञानेन्द्र मल्ललाई कप्तान बनाइयो । तर, कप्तान ज्ञानेन्द्र मल्लसहित तत्कालीन उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी तथा कमल सिंह ऐरीले खेलाडी वर्गीकरणलाई लिएर सार्वजनिक रूपमा क्यानविरुद्ध असन्तुष्टि पोखेपछि क्यानले २०७८ मंसिरमा उनीहरूलाई कारबाही गर्‍यो । 
क्यानले अन्य कारबाही कायमै राखेपनि ज्ञानेन्द्रको कप्तानी पद खोसेर सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय यथावत् राख्यो । त्यसैगरी, दीपेन्द्रको उपकप्तान पद पनि खोस्यो । 

सन्दीपले कप्तानी पाएपनि उनले टिमका अन्य सदस्यहरूबाट सहयोग भने पाउने सकेनन् । जसका कारण नेपाली क्रिकेट टिमको अन्तर्राष्ट्रिय प्रदर्शन पनि उत्साहजनक रहेन । सन्दीपले सार्वजनिक रूपमै आफूले सहयोग नपाएको गुनासो गरिरहे । तर, नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरी थुनामा पुगेपछि सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेर युवा ब्याट्सम्यान रोहित पौडेललाई कप्तान नियुक्त गरियो । रोहितको कप्तानीमा नेपालले खासै खेलहरू खेलेको छैन । तर, आईसीसीको आधिकारिक प्रतियोगितामा भने नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन ।

अर्कोतर्फ पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पनि देशमा टिक्न छाडेका छन् । टिममा खेलाडीबीच गुटबन्दी रहेको भन्दै प्रशिक्षकहरूले नेपाली टिम छाड्ने गरेका छन् । खेलाडीको गुटबन्दी मिलाउन नसक्नुको जिम्मा क्यानले नै लिनुपर्छ ।

२०७७ पुसमा प्रशिक्षक नियुक्त भएका डेभ वाटमोरले २०७८ असोजमा राजीनामा दिएका थिए भने २०७८ मंसिरमा मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदु दासानायके २०७९ साउन ४ मा हिँडे । जाँदाजाँदै उनले खेलाडीहरूबीच गुटबन्दी रहेको दाबी बताएका थिए । त्यसपछि साउन २३ मा क्यानले भारतीय नागरिक मनोज प्रभाकरलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गर्‍यो । तर, प्रभाकरले पनि खेलाडीसँगको विवादका कारण गत महिना पद छाडेर हिँडे ।

एकातिर खेलाडीसँगको विवाद र अर्कोतिर प्रशिक्षक नटिक्ने समस्या । यति मात्र होइन नेपालले आईसीसी मान्यता प्राप्त प्रतियोगितामा केही समययता राम्रो नतिजा पनि ल्याउन सकेको छैन । भर्खरै नामिबियामा सम्पन्न क्रिकेट लिग टूमा रोहितको कप्तानीमा खेल्न गएको नेपाली टोलीले एउटा पनि खेल जित्न सकेन । 
यसले के देखाउँछ भने अहिलेको क्यान नेतृत्व देशमा क्रिकेटको विकास गर्न सक्षम छैन । यो कुराको पुष्टि नेपाल टी-ट्वान्टी लिगको असफल आयोजनाले छर्लङ्ग पारेको छ ।

खे​लाडीले पारिश्रमिक नपाउने कुरा भुलचुकका रूपमा लिन पनि सकिएला तर राष्ट्रिय टोलीका पूर्व कप्तान र कमेन्टेटरले नै ‘म्याच फिक्सिङ’ भइरहेको बताइरहँदा यसले खेलको गरिमा मात्र धुलिसात् गरेको छैन देशको पहिचानमाथि नै प्रश्न उठेको छ । भोलिका दिनमा विदेशी खेलाडी खेल्न नेपाल आउँदा 'फिक्सिङ’को डर बोकेर आउनु परेको छ । यो सबैको दोष क्यान नेतृत्वले लिनुपर्छ र यदि चतुरबहादुर चन्दमा अलिकति पनि नैतिकता छ भने स्वतन्त्र छानबिनका लागि तुरुन्तै राजीनामा दिनुपर्छ । नामझैँ उनको चतुरताले क्रिकेटको विकास हैन विनाश भइरहेको छ । नेपाली क्रिकेट र स्वयं चतुरबहादुर चन्दको पनि यसैमा भलो छ ।

कीर्तिपुरमा भइरहेको यो क्रिकेटले पिच जस्तै नामको कीर्तिमान कायम गरेको छ । यस्ता कीर्तिमान जति कायम हुँदै जान्छन्, नेपालको सान, मान, इज्जत त्यति छिटो धुलिसात् हुन्छ । खेलमा कीर्तिमान बन्दा देश र जनताको इज्जत बढ्छ तर क्यानले झेलमा कीर्तिमान कायम गरेर सारा नेपालीको शिर झुकेको छ ।


 


Author

थप समाचार
x