सम्पादकीय

सम्पादकीय

तीव्र गति, जीवन क्षति

इकागज |
भदौ १९, २०८० मंगलबार १८:२० बजे

ट्राफिक प्रहरीले शहर, सडक जताततै ‘तीव्र गति, जीवन क्षति’ को बोर्ड राख्ने गरेको छ । तैपनि सवारी चालकको चेत खुल्दैन । यही चेत नखुलेकै कारण गत आइतबार काठमाडौँको पेप्सीकोलास्थित हृदयविदारक सवारी दुर्घटना भयो । उक्त दुर्घटनाको सीसीटीभी फुटेज अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ । त्यो फुटेज हेर्दा पहिलो गल्ती बस चालकको देखिन्छ, जसले अति तीव्र वेगका साथ कुदाएको थियो । दोस्रो गल्ती जहाँ पायो त्यहींबाट बाटो काट्ने पैदल यात्रुको देखिन्छ । पैदल यात्रुले बाटो काटेकै कारण आफ्नो लेनमा आइरहेको मोटरसाइकल आत्तिएर अर्काे लेनबाट क्रस गर्छ, जसलाई बचाउन खोज्दा बस नै पल्टिन्छ । त्यो बसले अर्काे लेनमा रहेको भ्यान, स्कुटरलाई ठक्कर दियो र दुई जनाको मृत्यु भयो ।

भनिन्छ, दशा बाजा बजाएर आउँदैन । केही गल्ती नगरेका व्यक्तिहरू पेप्सीकोला दुर्घटनामा परे र अनाहकमा ज्यान गुमाए । एउटाको गल्तीका कारण अरुले यसरी ज्यान गुमाउनु पर्दाको पीडा अति नराम्रो हुन्छ । नेपालीहरूले बाटो कसरी काट्ने, अझै थाहा पाउन सकेका छैनन् । अत्यधिक ट्राफिक हुनेमध्येको कोटेश्वर सडकको बीचको पर्खालै नाघेर यात्रुहरू बाटो काट्छन् । उनीहरूलाई पक्राउ गरी जीवनभर याद आउने गरी जरिवाना तिराउने परिपाटी छैन । त्यही भएर जे गरे पनि हुन्छ भन्ने आम बुझाइ छ ।


सरकारले सडकमा बाटो काट्नका लागि पर्याप्त मात्रामा जेब्रा क्रसिङ बनाएको छैन । यद्यपि जेब्रा क्रसिङमा बाटो काट्न पाउने पैदल यात्रुको अधिकार हो भन्ने होश सवारी चालकलाई पनि छैन । बाटो काटिरहेको बेला जेब्रा क्रसिङमा मारुँलाझैं गरेर हुइँक्याउँछन् । त्यस्ता सवारी चालकलाई पनि कारबाही गर्ने परिपाटी छैन । ट्राफिक नियम उल्लंघन गर्नेलाई लाइसेन्स खोस्ने, क्लास लिन लगाउने र बढीमा १५ सय रुपैयाँसम्म जरिवाना तिर्न लगाउने गरिएको छ । सवारी चालकहरूको हेपाहा प्रवृत्ति हेर्दा यो दण्ड सजाय उनीहरूका लागि निकै थोरै भएको र चेत नै नखुल्ने किसिमको रहेको प्रतीत हुन्छ ।

हरेक ठाउँमा ट्राफिक प्रहरी खटाउन सकिँदैन, साध्य चल्दैन । ६ लेनका सडकमा प्रहरीले सवारी साधनको गति नियमन गर्छ । अन्त गरेको छैन । पर्याप्त जनशक्ति र बजेट नभएका कारण । सरकार चलाउनेहरू पनि नागरिकको जिउ ज्यानसँग मानौं कुनै सरोकार नै छैन जस्तो गर्छन् । सरकारले ट्राफिक बत्ती, जेब्रा क्रसिङ जस्ता अति आधारभूत र सामान्य संरचनामा पनि बजेट दिँदैन । पेप्सीकोलामा गत आइतबार सबै सवारी साधनका गति नियन्त्रित हुँदो हो त, त्यो दुर्घटना नै हुँदैनथ्यो । ६ लेनको सडकमा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी कुदाउन पाइँदैन । तर, गति नियमन गर्ने यन्त्र नराखिएका ठाउँमा र गति सीमा ५० लेखिएका ठाउँमा जति गतिमा कुदाए पनि कारबाही गर्ने ‘चलन’ नै छैन ।

संघीय राजधानीका सडक त यति असुरक्षित छन् भने राजधानीबाहिरको अवस्था झन् कहालीलाग्दो छ । राजधानीबाहिर भएका अधिकांश दुर्घटनामा पनि उही गतिकै कारण हुने गर्छ । त्यसमाथि जर्जर सडक, थोत्रा गाडी, क्षमताभन्दा बढी यात्रु वा सामान ढुवानी । नियमन अभाव । सवारी साधनको नियमित मर्मत अभाव । गाडीका साहुहरूको सम्झौतापरस्त नीति । त्यही भएर गत आर्थिक वर्षमा मात्र देशभर २३ हजार पाँच सय वटा सवारी दुर्घटना भए, जहाँ दुई हजार तीन सय जनाले ज्यान गुमाए । दुर्घटनामा परेर आफन्त गुमाएका, घाइते भएका, अंगभंग भएकाले बाहेक राज्यले, सरकारमा बस्ने सबैले दुर्घटनाको भोलिपल्टदेखि बिर्सन्छन् कि दुर्घटना भएको थियो भनेर । 

तसर्थ सरकारले सर्वप्रथम तीव्र गतिमा सवारी चलाउनेलाई विशेष कारबाही गर्नुका साथै जनचेतना जगाउनु पर्छ । नत्र गल्ती नै नगरेका पैदल यात्रु, सवारी चालकहरूले पेप्सीकोलामा जस्तै अनाहकमा ज्यान गुमाउनु पर्नेछ ।


Author

थप समाचार
x