सम्पादकीय

सम्पादकीय

एमालेमा प्रदर्शित नियन्त्रण र कब्जाको संस्कार

इकागज |
मंसिर १२, २०७८ आइतबार १७:२१ बजे

नेकपा (एमाले) को दशौं महाधिवेशनबाट नेतृत्व चयन गर्ने सर्वाधिकार (महाधिवेशन) प्रतिनिधिलाई नभएर अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । जबकी यो महाधिवेशनमा उनी आफैं अध्यक्षका आकांक्षी हुन् । 

शुक्रबार महाधिवेशन उद्घाटनपछि मध्यरातमा केन्द्रीय समितिको अन्तिम बैठक बसेर विधान महाधिवेशनको म्यान्डेट विपरित पदाधिकारीको संख्या थपिएको छ । यसले दुई महिनाअघि तामझामका साथ सम्पन्न विधान महाधिवेशनको औचित्यमाथि पनि प्रश्न उठेको छ । 


एमालेको महाधिवेशनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अझै शक्तिशाली बनाउँदै पार्टीको महाधिवेशन दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने ठाउँ नभएर ओलीको निर्मम स्वेच्छाचारिता लाद्‍ने थलो भएको छ । 

यसअघि दलभित्र लोकतान्त्रिक अभ्यास गर्दै आएको एमालेमा ओलीको उदयसँगै आन्तरिक लोकतन्त्र र विचारको राजनीति समाप्त भएका छन् । ओली आफैं नवौं महाधिवेशनबाट अध्यक्षमा प्रतिस्पर्धा गरेर विजयी भएका हुन् । 

दशौं महाधिवेशनसम्म आइपुग्दा ओली यति शक्तिशाली भए की पार्टीभित्र फाँसिवादी अभ्यास गराएर वैधानिक रूपमा दल कब्जा गरेका छन् । एमालेमा ओलीको उदय गुटको राजनीतिबाट भएको हो, उनी गुटकै नेताका रूपमा नवौं महाधिवेशनमा विजयी भए । 

पार्टी अध्यक्ष भएपछि पनि उनले गुटको धङधङी छोड्न सकेनन् र पार्टीलाई गुटकै हिसाबमा चलाए । ओलीको गुटले पार्टीभित्र फरक मत राख्ने र आफूलाई नेतृत्वका लागि प्रक्षेपण गरिरहेका नेताहरूलाई अनेकौं लान्छाना, साइबर आक्रमणदेखि धम्की र गाली बेइज्जती गर्दै आएको छ । त्यसको शिकार अहिले एमालेभित्र भीम रावल, घनश्याम भुषालहरू बनेका छन् । 

मुलुकको संविधानले नै लोकतन्त्रको उन्नत अभ्यासका लागि दलहरूले हरेक पाँच–पाँच वर्षमा पार्टीका सबै संरचनामा अधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । यसबाट राजनीतिक दलको हरेक तहमा नेतृत्व कार्यकर्ताको रोजाइमा आउँछन् भन्ने मान्यता छ । कतिपय दलको विधानले नेतृत्व परिवर्तनका लागि किटानी साथ कार्यकालको सीमा तोकेका छन् । राजनीतिक दलहरूभित्र आन्तरिक लोकतन्त्रको अभ्यासले दलहरू जीवन्त हुन्छन् र यसले लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यता छ । 

एमालेको दशौं महाधिवेशनबाट नेतृत्व चयनमा पूर्णतः अलोकतान्त्रिक र निरंकुश शैली अपनाइएको छ । नेतृत्वका आकांक्षीहरूलाई दबाब, धम्की, आश्वासन वा अनेक तरिकाबाट लोभ, दबाब र प्रभावमा नेतृत्व चयन हुनु अलोकतान्त्रिक संस्कार हो । पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यहरूको नाम समेत ओलीले नै घोषणा गर्ने हो भने कोभिड–१९ संत्रासका बीच चितवनमा त्यो भीड किन जम्मा गरिएको हो भनेर राजनीतिक चेत भएका सबै नेपालीले प्रश्न गरेका छन् । 

दलभित्र लोकतान्त्रिक संस्कार नहुँदा राष्ट्रिय राजनीतिमा पनि हिजो यस्तै अलोकतान्त्रिक र स्वेच्छाचारी चरित्र देखिएकै हो । अहिले सबैजसो ठूला दलहरूमा महाधिवेशन भैरहेको छ र नेतृत्वको शैली धेरै हदसम्म उस्तै देखिन्छ । यसले हाम्रो लोकतन्त्र कमजोर हुन्छ । 

आफ्नै दलभित्र महाधिवेशन प्रतिनिधिहरूमाझ समेत प्रतिस्पर्धा गर्न अरुचि देखिनु लोकतन्त्र र प्रतिस्पर्धाको राजनीतिका लागि सर्वथा अहितकर छ । यतिबेला मुलुकको सबैभन्दा ठूलो दलका रूपमा रहेकाले एमालेको महाधिवेशनले कसरी नेतृत्व चयन गर्दैछ भन्ने आम चासो स्वभाविक हो । लोकतन्त्रको रक्षाका लागि पहरेदारी गर्ने प्रतिवद्धता गर्ने एमाले आफैंभित्र अलोकतान्त्रिक संस्कारको शिकार किन भएको हो ? एमालेभित्र लोकतन्त्र, विचार र प्रतिस्पर्धा (जनताको बहुदलीय जनवाद) सबै समाप्त भैरहेको हो ?


Author

थप समाचार
x