शिक्षा

विश्वविद्यालयको पठनपाठन प्रभावित हुन नदिन प्रधानमन्त्रीको प्राध्यापकहरुलाई आग्रह

इकागज |
साउन २६, २०७९ बिहीबार १८:२९ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् । 

नेपाल प्राध्यापक संघको ६०औँ वार्षिक दिवस (हीरक महोत्सव) समारोहको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय, प्राध्यापक र विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम गरेर आपसी समस्या र चुनौतीलाई साझा रुपमा समाधान गर्न पनि आग्रह गरे । 


“कुनै पनि देशको विकास त्यस देशको शैक्षिक गुणस्तरका आधारमा मापन हुन्छ । त्यसैले इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालायले समाजमा आवश्यक र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने शैक्षिक जनशक्ति तयार गर्नुपर्छ । त्यसमा प्राध्यापकहरुले पूर्ण जिम्मेवारीका साथ काम गर्ने विश्वास व्यक्त गर्दछु”, त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने । 

उनले विश्वविद्यालय शिक्षालाई थप गुणात्मक र अनुसन्धानमूलक बनाउन राज्यका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयको पठनपाठन गुणस्तरीय, जीवनापयोगी, रोजगारमुखी, समसामयिक र प्रविधिमैत्री बनाइ उच्च शिक्षालाई रोजगारमूलक बनाउन आग्रह गरे । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय शिक्षालाई अनुसन्धामुखी बनाइ अन्तर्राष्ट्रियस्तरका शिक्षक र प्राध्यापकको आकर्षणको थलो नेपाललाई बनाउन प्राध्यापकहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए । समारोहमा संघका पूर्व सभापति एवं पूर्वमन्त्री भीमसेनदास प्रधानलगायतलाई सम्मान गरिएको थियो । रासस


Author

थप समाचार
x