शिक्षा

शिक्षामन्त्री पौडेलकाे आग्रह : शिक्षा प्रणाली राम्रो छैन भन्‍ने प्रचार नगर्नुस्

इकागज |
साउन २८, २०७९ शनिबार १४:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताएका हुन् । उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको जिकिर गरे ।


मन्त्री पौडेलले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने उल्लेख गरे । उनले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरे । 

मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकोले सेवा सुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताए । उनले देशमा विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक रहेको औँल्याए । उनले बाहिरबाट एसईईको नतिजा पोजेटिभ देखिएपनि भित्रि पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको दाबी गरे।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिलेसम्मको कमजोरीलाई मूल्यांकन गरेर शैक्षिक गुणस्तरका लागि अघि बढ्ने दिशामा बोर्ड रहेको बताए । उनले यस वर्षको एसईईको परीक्षामा गणित विषयमा विद्यार्थीहरुको नतिजा कम आएको र धेरै अनुत्तीर्ण भएको भन्ने कुरा सत्य रहेको भन्दै यसको बारेमा विश्लेषण गर्ने बेला भएको बताए । उनले नतिजा कमजोर आउनुको वास्तविक कारण पत्ता लगाउने कुरामा परीक्षा बोर्ड लाग्ने जिकिर गरे ।

अध्यक्ष शर्माले प्रश्नपत्रलाई टेस्टेड प्रश्नपत्र बनाउन स्तरीकृति परीक्षा प्रणाली सञ्चालन गर्नुपर्ने बताए । उनले कक्षा १२ पछि विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने उल्लेख गरे । परीक्षा बोर्डले विद्यार्थी र शिक्षकको ग्रेडिङ मात्रै मापन गर्ने नभइ विद्यालयकै स्तर मापन गरिरहेको र सुधारका लागि योजना बनाउने काममा लागेको बताए । 


Author

थप समाचार
x