शिक्षा

त्रिविको लापर‍बाहीप्रति जागे विद्यार्थी संगठनहरू, कसले के-के भने ?

इकागज |
चैत १६, २०८० शुक्रबार १२:५० बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले उत्तर पुस्तिका हराएका दुईवटा विषयहरूको एक वर्षपछि पुनः परीक्षा लिने भएपछि विद्यार्थी संगठनहरूले विरोध जनाएका छन् । उनीहरूले त्रिविको लापरबाहीप्रति विज्ञप्तिमार्फत विरोध जनाएका हुन् ।


सत्तारूढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर विरोध जनाएका छन् । 

त्यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पनि विरोध जनाएको छ । त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियनलगाहरूले पनि विरोध जनाएका छन् । त्यस्तै अनेरास्ववियु छैठौँले पनि विज्ञप्ति निकालेर विरोध जनाएको छ ।

'विद्यार्थीको सुनौलो भविष्यमाथि खेलबाड गर्ने शिक्षा क्षेत्रका बलाल माफिया जोसुकै किन नहुनु त्यस्तालाई अखिल क्रान्तिकारी नछाड्ने चेतावनी दिन चाहन्छ' अखिल क्रान्तिकारीले भनेको छ 'विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने जिम्मेवारी प्राप्त गरेको संस्था परीक्षा नियन्त्रण कार्यालयको यो गैर जिम्मेवारीपनका पछाडि परीक्षा नियन्त्रक र केन्द्रिय परीक्षा बोर्डको अध्यक्ष रजिस्ट्रारको उदासीनता माफियाकरणको उपजका कारण यो समस्या बारम्बार उत्पन्न भइराखेको छ ।

'एकातर्फ परीक्षा सञ्चालन भएको एक वर्षसम्म पनि परीक्षाको नतिजा सार्वजनिक गर्न नसक्नु र अर्कोतर्फ परीक्षार्थीले दिएका उत्तरपुस्तिका हरायो भन्नु परीक्षा नियन्त्रण कार्यालयको गम्भीर लापरबाही, हेलचक्रयाई र अकर्मण्यताको पराकाष्ठा हो' अनेरास्ववियुले विज्ञप्तिमा लेखेको छ 'विश्वविद्यालयमा अययनरत लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य नै अन्योलता तर्फ धकेल्न उद्दत देखिएका मध्येको एकः परीक्षा नियन्त्रण कार्यालयको यो किसिमको लापरबाही पहिलो पटक भने होइन । नतिजा सार्वजिक गर्ने समयमा बारम्बार उत्तरपुस्तिका हराउने, पुनः परीक्षा लिने जस्ता गैरजिम्मेवारपूर्ण क्रियाकलापले समग्र त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक गरिमा र विद्यार्थीहरूको भविष्यमाथि गम्भीर सङ्कटको सङ्केत पैदा गराएकाले उक्त गतिविधिमा संलग्न सबैलाई अनेरास्ववियु आफैँले कारबाही गर्ने चेतावनी समेत दिन चाहन्छ ।'

स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२ ) र शिक्षा शास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२ ) का विषयको पुनः परीक्षा हुने त्रिविले बिहीबार सूचना जारी गरेको थियो ।

'परीक्षा नियन्त्रण कार्यालयको यस्तो कमजोरीले लाखौ विद्यार्थी प्रभावित भइरहंदा सुधारका लागि न परीक्षा नियन्त्रण कार्यालय न विश्वविद्यालय नै गम्भीर देखिन्छ' नेविसंघले भनेको छ 'अतः यस्ता तमाम बेथिति तथा मिति २०८० साल वैशाख महिनामा सञ्चालित स्नातक तह प्रथम वर्षको Pop - 422 Population and Health विषयको १६५ थान र Foundation of Education-412 विषयको १७६ थान उत्तरपुस्तिका हराउने जस्ता विश्वविद्यालयका लापरबाही प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ साथै संघ समग्र विश्वविद्यालयको सुधार तथा दोषी उपर छानबिन गरि कारबाहीको लागि जोडदार माग गर्दछ ।'

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार यी दुई विषयको पुनः परीक्षा चैत २१ गते हुने सूचनामा उल्लेख छ । यी विषयको परीक्षा गत वैशाखमा भएको थियो ।


Author

थप समाचार
x