स्थानीय तह निर्वाचन २०७९

रुपन्देहीको सिद्वार्थनगरमा प्रमुख कांग्रेस, उपप्रमुख एमाले

इकागज |
जेठ ४, २०७९ बुधबार २२:४७ बजे

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । २०७४ मा एमालेले जितेको यो नगरपालिकाको मेयर यश पटक कांग्रेसले खोसेको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पूर्व मेयर सागर प्रताप राणाले ८ हजार १३७ मत प्राप्त गरे ।


२०७४ को चुनावमा हार व्यहोरेका राणा ९ सय ९७ मतान्तरले पछाडि परे । निर्वाचित खान मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका थिए । यस्तै नगरपालिकाको उपप्रमुखमा भने एमालेकी उमा अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ८ हजार ८ सय १३ मत पाएर निर्वाचित भईन भने उनकी प्रतिद्वन्द्वी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याईन् ।

यस्तै गठबन्धनबाट उपमेयरको उम्मेदवारी पाएकी माओवादी केन्द्रकी कमला थापाले ४ हजार ५ सय ९२ मत ल्याइन् । पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भए पनि एमालेले उपप्रमुख जितेकोे छ ।

१३ वडा रहेको सिद्धार्थनगरमा ४४ हजार ६ सय ५२ मतदाता छन जसमध्ये ३२ हजार ६७ जनाले मताधिकार प्रयोग गरेका थिए । १३ वडा मध्ये कांग्रेसले ५ वटा, एमालेले ४ वटा वडामा, राप्रपाले ३ वटा र जसपाले एक वडामा विजय निकालेको छ ।


Author

थप समाचार
x