स्थानीय तह निर्वाचन २०७९

'लेडी जेसीज'बाट उदाएर लम्कीचुहाको मेयर : को हुन् सुशीला शाही ?

इकागज |
जेठ ७, २०७९ शनिवार १४:४४ बजे

काठमाडौँ – बैशाख १२ गतेसम्म कैलालीको लम्कीचुहा नगरपालिकामा कांग्रेसको उम्मेदवार को भन्ने यकिन थिएन । मेयरमा कांग्रेसबाट दुई जनाले मनोनयन दर्ता गराएका थिए ।

मनोनयन दर्ताको केही समय अघिसम्म कांग्रेसबाट भक्त थापा एकल उम्मेदवार हुने निश्चित प्रायः थियो । उनलाई प्रदेश कार्यसमितिले टिकट दिएको थियो । मनोनयन दर्ताको समयमा लम्कीचुहाको राजनीतिमा नयाँ ट्वीस्ट आयो ।


केन्द्रीय सभापति शेरबहादुर देउवाले टिकट दिएपछि सुशीला शाही लम्कीचुहामा मेयर उम्मेदवारका रूपमा अगाडि आइन् । अन्ततः दुवै जनाले मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराए । 

लम्कीचुहामा कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो । यसअघि नेकपा एमालेले जितेको लम्कीमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेपछि हल्लाखल्ला भयो । कांग्रेसभित्रको अन्तरविरोध छताछुल्ल भयो । 

तर, उम्मेदवारी विवादको अन्तर्विरोध धेरै दिन रहेन । भक्त थापाले उम्मेदवारी फिर्ता लिए । शाही गठबन्धनको तर्फबाट एक्लो उम्मेदवार भइन् । मनोनयनमा देखिएको अन्तर्विरोधको असर चुनावमा पनि देखिएन । कांग्रेसीहरू सुशीलालाई जिताउन एकजुट भएरै लागे । 

कांग्रेसकै सुशीला शाही लम्कीचुहाको पहिलो महिला मेयरमा निर्वाचित भइन् । उनले निवर्तमान मेयर एमालेका महादेव बजगाईंलाई २ हजार २७८ मतान्तरले पराजित गरिन् । 

शाहीले १२ हजार ७१३ मत पाउँदा निवर्तमान मेयर बजगाईंले १० हजार ४३५ मत प्राप्त गरे । उपमेयरमा भने एमालेकी जुना चौधरी निर्वाचित भइन् ।

अब जनअपेक्षाअनसार काम गर्ने उनको भनाइ छ । विजयपछि उनले भनिन्, ‘अब म नगरबासीको मेयर हो । जनताका दुःख र आवश्यकता बुझेर काम गर्छु । अब को कुन् पार्टी, कसको पार्टी भन्ने हेर्दिनँ ।’

को हुन् सुशीला शाही ?

सुशीला शाही ३७ वर्षअघि हालको लम्कीचुहा–१ मा जन्मेकी हुन् । २०४२ जेष्ठ २८ मा जन्मेकी शाही २ दिदिबहिनी र ४ दाजुभाइ मध्येकी कान्छी छोरी हुन् ।

मोतीपुरस्थित राष्ट्रिय राष्ट्रिय माविबाट एसएलसी उतीर्ण गरेकी शाहीले त्रिभुवन विश्वविद्यालयअन्तरर्गत महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।

लामो समयदेखि कांग्रेस राजनीतिमा आवद्ध शाही २०७४ को प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको सूचीमा थिइन् ।

लम्की उद्योग बाणिज्य संघको संस्थापक उपाध्यक्ष हुँदै शाही अध्यक्षसम्म भइन् । लम्की लेडी जेसीज(२०१३)को संस्थापक अध्यक्ष रहेकी शाही नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष (२०१७) समेत भइन् ।

उनीसँग विभिन्न वित्तीय संस्था र विद्यालयहरूमा संस्थापक एवंम संचालक भएर समेत काम गरेको अनुभव छ । उनले ५० अनाथ बालबालिकालाई आफ्नै पहलमा निःशुल्क शिक्षा दिइरहेकी छिन् । 
 


Author

थप समाचार
x