स्थानीय तह निर्वाचन २०७९

स्थानीय तह निर्वाचन

उपमेयरसहित दश उम्मेदवार : जसले चुनावै देख्‍न पाएनन्

अतिन आचार्य |
बैशाख २९, २०७९ बिहीबार १९:५ बजे

काठमाडौँ - स्थानीय तहको निर्वाचन भोलि (शुक्रबार) हुँदैछ ।  देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छनोट गर्न मतदान केन्द्रमा बिहानैदेखि मतदान केन्द्रमा मतदाताको घुइँचो लाग्नेछ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।

भोलि उम्मेदवारको परीक्षा पनि हो । 


वैशाखको दोस्रो साता विभिन्न दलका र स्वतन्त्रले गरी आफ्नो उम्मेदवारी गराएका थिए ।  उम्मेदवारहरू विभिन्न आकर्षक नारासहित चिह्न लिएर मतदाताका आँगन टेके । उम्मेदवारहरूले मतदाताको आँगन मात्र टेकेनन् । विकास र समृद्धिको नारा तथा आश्वासनका पोकाहरू बाँड्न भ्याए ।

तर, केही उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन मात्र गरे । उम्मेदवारले नाम सार्वजनिक भएको देख्‍न र सुन्नसमेत पाएनन् । यस्ता केही उम्मेदवार जो मत माग्न नपाइ संसारबाटै बिदा भए ।

उनीहरूले विजयीको माला पहिरिन पाएनन्, बिदाइमा पिताम्बर ओढे ।

केहीले मतदातालाई आफ्नो योजना सुनाउनसमेत भ्याए । तर, जनमत परीक्षण गर्न पाएनन् । केही उपचारकै क्रममा अस्पतालबाट बिदा भए ।

निर्वाचन हुन १ दिन अगाडि(बिहीबार)सम्म देशभर उम्मेदवार दर्ता गराएकामध्ये उपमेयरसहित १० जना उम्मेदवारको मृत्यु भएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार पहिलो पटक महिला सदस्य मडुवादेवी चमार संसारबाट बिदा भइन् । उनले सुनसरी हरिनगर गाउँपालिका-६ बाट दलित महिला सदस्यमा उम्मेदवारी दर्ता गराएकी थिइन् । चमार नेपाली कांग्रेस पार्टीकी तर्फबाट सदस्य बनेकी थिइन् । वैशाख १४ गते उनको निधन भयो । जुन बेलासम्म उनले प्रचारप्रसार गर्न मतदाताको घरमा पुग्न पाएकी थिइनन् ।

रौतहट वृन्दावन नगरपालिकाकी मिना देवीको १६ गते मृत्यु भयो । उनले जनता समाजवादी पार्टीबाट वडा सदस्यमा नाम दर्ता गराएकी थिइन् । मोरङ केराबारी गाउँपालिका वडा २ का सदस्य उम्मेदवार भएका नवीन लिम्बुको १६ गते मृत्यु भयो ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका ८ का अध्यक्ष ओमप्रकाश तिवारीको १६ गते मृत्यु भयो । उनी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । रुपन्देही मर्चवारी गाउँपालिका ३ की कुसुमी पासिनको पनि १७ गते मृत्यु भयो । उनी नेकपा एमालेको तर्फबाट सदस्य बनेकी थिइन् ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका १० का राजेन्द्र चौधरी २३ गते मृत्यु भयो । उनी नेकपा माओवादी केन्द्रबाट सदस्यको उम्मेदवार बनेका थिए । सिरहा, सिरहा नगरपालिका ५ का वडा सदस्य मुना सेखको २३ गते मृत्यु भयो । उनले नेकपा एमालेबाट सदस्यको उम्मेदवारी दर्ता गराएका थिए ।

कपिलवस्तु महाराजगञ्ज नगरपालिकाका उपमेयरकी उम्मेदवार शुभावती कर्मीको २७ गते मृत्यु भएको थियो । उनले नेपाली कांग्रेसको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन् । कुर्मीको हृदयघातका कारण मृत्यु भएको थियो । 

त्यस्तै दाङ, तुलसी नगरपालिका १७ का वडा अध्यक्ष लभरु चौधरीको पनि २७ गते मृत्यु भयो । उनले नेकपा एमालेको तर्फबाट अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । चौधरी मिर्गौला र कलेजो सम्बन्धी रोगबाट पीडित थिए ।

सुनसरीकै रामधुनी नगरपालिका ८ का वडा अध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेलको २४ गते मृत्यु भयो । उनी स्वतन्त्रतर्फबाट 'कैची' चिह्न लिएर चुनावी मैदानमा थिए । उनले आत्महत्या गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x