रोजगारी

रोजगारीका लागि नयाँ गन्तव्य मुलुक खोज्ने बोर्डको योजना अझै पूरा हुन सकेन

चार महिनामा ९ सय ३७ जनाले लिए टेलिमेडिसिन सेवा

इकागज |
साउन ३२, २०८० बिहीबार १४:२० बजे

काठमाडौँ- वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवा प्रभावकारी देखिएको छ ।

गत आर्थिक वर्षको चार महिनामा ९ सय ३७ जनाले टेलिमेडिसिन सेवा लिएका छन् । उनीहरूले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वैदेशिक रोजगार बोर्डले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवामार्फत स्वास्थ्य सेवा लिएका हुन् । टेलिमेडिसिन सेवा लिनेहरूमा सबैभन्दा बढी मलेसियाबाट २ सय ७५ जना छन् ।


त्यसैगरी साउदी अरेबियाबाट २ सय २७ जना, युएईबाट ९७, कुवेतबाट ७१, कतारबाट १ सय ४, जापानबाट १९, कोरियाबाट ५७, पोर्चुगलबाट ११,रोमानियाबाट ११ र अन्य मुलुकबाट ६५ गरी जम्मा ९ सय ३७ जनाले सेवा लिएको बोर्डले जनाएको छ । सबैभन्दा बढी मेडिसिनमा ३ सय १२, सर्जरीमा १ सय ७२ र अर्थोपेडिकमा १ सय ३२ जनाले सेवा लिएका छन् ।

बोर्डले गत आर्थिक वर्षको चैत महिनाबाट बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले पाइलट टेस्टका रूपमा बोर्डले सुरु गरेको टेलिमेडिसिन सेवा प्रभावकारी रहेको जानकारी दिए । उनले तत्कालका लागि एक जना चिकित्सक र २ जना स्टाफ नर्स कुनै समयमा पनि उपलब्ध हुने गरी सुरु गरिएको सेवा प्रभावकारी देखिएपछि बिस्तार गर्दै लैजाने सोचमा बोर्ड रहेको पनि बताए ।

बोर्डले श्रमका लागि नयाँ गन्तव्यको खोजीको सन्दर्भमा भने खासै प्रगति हासिल गर्न सकेको छैन । विशेष गरेर श्रमसम्बन्धी दुई देशबीच हुनुपर्ने सम्झौता नभएका कारण बोर्डलाई त्यसतर्फ काम गर्न अप्ठ्यारो भएको कार्यकारी निर्देशक डा. उप्रेतीले जानकारी दिए ।

बोर्डले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई उपलब्ध गराउँदै आएको राहत उद्धारको रकम समय सान्दर्भिक नभएको भन्दै ऐन संशोधनका लागि सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ । बोर्डले अहिले श्रम सम्बन्धी कानुनी कागजात अध्यावधी रहेका कामदारको मृत्यु भएमा ७ लाख रुपैयाँ र कागजात अध्यावधी नभएका तथा अवैधानिक ढंगले बसेका कामदारको मृत्यु भएमा २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

बोर्डले लिने शुल्क र राहत रकम दुवै बढाउने गरी ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो ।

बोर्डले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएर फर्किएका नेपालीलाई स्वदेशमै पुनःस्थापना गराउने उद्देश्यले विभिन्न संघ संस्थाको सहयोगमा ६८ वटा पालिकामा पुनःस्थापनाको कार्यक्रम सञ्चालन गरेको थियो ।


 


Author

थप समाचार
x