ऊर्जा

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन तथा मर्स्याङ्दी कोरिडोरको न्यू २२० केभी उद्घाटन

इकागज |
भदौ ५, २०८० मंगलबार १३:३२ बजे

चितवन- हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन तथा मर्स्याङ्दी कोरिडोरको न्यू २२० र केभी  जिआइएस सब स्टेशनको उद्घाटन भएको छ । 

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एकसाथ चितवनको भरतपुरबाट २ सय केभी जिआइएसको उद्घाटन गरेका हुन् ।


भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि उद्घाटन भएको हो ।

५ अर्ब ९४ करोडको लागतमा आयोजना निर्माण भएको हो ।

प्रसारण लाइनले एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ । २२० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा १३२ केभीमा सञ्चालनमा ल्याइने भएको छ ।

प्रसारण लाइनले अब भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज हुने भएको छ । भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउनका लागि पुरानोसहित ३ वटा सर्किट भएका छन्।

२२० केभीको लाइनलाई हाल १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह हुन्छ ।

पुरानो सिङ्गल सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो । भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर छ ।

प्रसारण लाइनमा २४६ वटा टावर छन् । आयोजना निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेण्डर गरेको थियो । 

पुन:  चिनियाँ कम्पनी हेङटन अप्टिक्स् इलेक्ट्रिकसँग २०७५ साउनमा ठेक्का सम्झौता भएको थियो ।

भरतपुरबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनको सिंगल सर्किटलाई एक वर्षअघि सञ्चालनमा ल्याइएको थियो ।

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापीङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको थियो ।

भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको थियो। 

प्रसारण लाइनको क्षमता सुदृढीकरण र नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा हेटौडा–भरपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

२०७८ कात्तिकबाट विश्व बैंक आयोजनाबाट पछि हटेपछि सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा बाँकी काम अगाडि बढाइएको थियो ।

हेटौंडा–भरतपुर खण्ड निर्माण सम्पन्न भई एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको छ ।


Author

थप समाचार
x