ऊर्जा

जलविद्युतमा लगानी बढाउँदै निजी क्षेत्र

५८.५ मेगावाटका दुई आयोजनामा १० अर्ब ७३ करोड लगानी सम्झौता

इकागज |
माघ १, २०७८ शनिबार १५:२६ बजे

लगानी सम्झाैतामा हस्ताक्षर गरेपछि सम्झाैतापत्र आदान-प्रदान गर्दै कम्पनीद्वयका अध्यक्ष पुष्पज्याेति ढुंगाना र सानिमा बै‌कका नायब महाप्रबन्धक निश्चलराज पाण्डे । तस्वीर : इकागज

काठमाडाौ : कूल ५८.५ मेगावाटका दुई जलविद्युत् आयोजनाहरुमा १० अर्ब ७३ करोड रुपैयाँ लगानी सम्झौता भएको छ । पूर्वको तमोर पाँचौ (३७.५ मेगावाट) र ताप्लेजुङको पालुङ खोला (२१ मेगावाट) मा स्वदेशका बैंकहरुले ८ अर्ब ४ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । यी दुई आयोजनामा प्रवद्र्धकहरुको लगानी स्वपुँजी (इक्वीटी) २ अर्ब ६९ करोड रुपैयाँ लगानी छ ।

सानिमा बैंकको अगुवाईमा नेपाल बैंक, कृषि विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकले ऋण लगानी गरेका हुन् । स्वपुँजीतर्फ नेपालको जलविद्युत् आयोजना निर्माणमा निजी क्षेत्रबाट अग्रता लिएको प्रवद्र्धदकहरुले लगानी गरेका हुन् ।


लगानी सम्झौतामा विभिन्न जलविद्युत् आयोजना निर्माण गरिसकेका अनुभवी युवा व्यवसायी पुष्पज्योति ढुंगाना र सानिमा बैंकका नायव महाप्रबन्धक निश्चलराज पाण्डेले हस्ताक्षर गरे । तमाेर पाँचौलाई रिभर साइड हाइड्रो इनर्जी प्रालि र पालुन खोलालाई पालुन खाेला हाइड्रो पावर प्रालिले प्रवद्र्धन गरेकाे हाे । ढुंगाना यी दुबै कम्पनीका अध्यक्ष हुन् ।

धुम्बाराहीस्थित होटल अकामामा भएको लगानी सम्झौतासम्बन्धी हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथि पूर्व सभामुख तथा इलामबाट संघीय संसदमा निर्वाचित सांसद सुवास नेम्बाङ थिए । 

तमोर पाँचौंको कूल आयोजना निर्माण लागत ६ अर्ब ९१ कराेड रुपैयाँ रहेको सुपर मादी हाइड्रोपावरका महाप्रबन्धक प्रकृतिराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार तमोर पाँचौंको प्रतिमेगावाट लागत १८ करोड ४० लाख रुपैयाँ हुने अनुमान छ । यो आयोजनामा यी बैंकहरुले पाँच अर्ब १८ करोड रुपैयाँ लगानी गर्नेछन् । यसमा प्रवद्र्धकहरुको एक अर्ब ७३ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।

त्यसैगरी पालुङ खोलाको अनुमानित लागत ३ अर्ब ८२ करोड रुपैयाँ रहेको महाप्रबन्धक तिमिल्सिनाले बताए । उनका अनुसार यो आयोजनाको पनि प्रतिमेगावाट लागत १८ करोड २० लाख रुपैयाँ छ । पालुङमा पनि यी ६ वटा बैंकहरुले २ अर्ब ८६ करोड ऋण लगानी गर्ने सम्झौता भएको हो । यसमा प्रवद्र्धकहरुले ९६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । नेपालमा प्रतिमेगावाट लागत २० करोड रुपैयाँसम्मलाई उचित मानिन्छ । 

सम्झौता पत्र आदान प्रदान गर्दै दुबै कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले यी दुवै आयोजना आगामी तीन वर्षभित्र पूरा गर्न लक्ष्य लिइए पनि अढाई वर्षमा पूरा गर्न आफूहरु लागिपर्ने बताए । आयोजनाको जग्गा प्राप्ति करिब पूरा भएको, पहुँच मार्ग निर्माण सुरु भइसकेको, वातावरणीय प्रभाव मूल्यांकन, उत्पादन अनुमति लिने क्रममा रहेको जानकारी अध्यक्ष ढुंगानाले दिए । 

अध्यक्ष ढुंगानाले कास्कीमा निर्माणाधीन सुपर मादी (४० मेगावाट) मा गत वर्षायाममा बाढी नआएको भए आगामी जेठमा बिजुली उत्पादन भइसक्ने उल्लेख गर्दै आगामी असारदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए । उनले सुपर मादीको सेयर सर्वसाधरणलाई निष्कासन गर्ने तयारी रहेको पनि जानकारी दिए ।
उनले कोभिड–१९, लकडाउन, बाढी पहिरोको अवस्थामा पनि आयोजना निर्माण कार्य बन्द नगरिएको बताए ।

लिड बैंकका तर्फबा वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले पुष्पज्योति ढुंगानासँग विगत १० वर्षदेखि मिलेर काम गर्दै आएको उल्लेख गर्दै समयमै आयोजना सम्पन्न गर्ने दक्षता हासिल गरेको बताए । ‘उहाँले अघि बढाउनु भएका आयोजनाहरुमा सहवित्तीयकरण गर्न पाउँदा हामी खुशी छौं,’ पाण्डेले भने, ‘वर्षामा बाढीले सुपर मादी आक्रान्त भएको थियो, तर छोटो समयमै आयोजनालाई पुनःजीवित तुल्याउनुभयो ।’

कार्यक्रममा प्रमुख अतिथि सुवास नेम्वाङले ताप्लेजुङ बेसिन भएर जलविद्युते आयोजनामा लगानीसम्बन्धी सम्झौता भएकोमा सबैलाई बधाइ दिंदै जलविद्युत् मुलुकको विकासको लागि महत्वपूर्ण आधार भएको बताए । ‘तपाईंहरुको यो अभियानले पूर्णता पाओस् हामी सबैको साथ, सहयोग र समर्थन छ ।’

कार्यक्रममा बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले यी दुई आयोजनाले पूर्वको मात्र नभई मुलुकको विकासमा सघाउ पु¥याउने बताए । उनले राज्यले जलविद्युत्लाई अझ विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 
 


Author

थप समाचार
x