उद्यम

भाडावृद्धि तत्काल फिर्ता नभए सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने महासंघको चेतावनी

इकागज |
पुस ३, २०७९ आइतबार १८:८ बजे

काठमाडौँ- नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको छ ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गर्दै महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेको भाडा वृद्धि तत्काल खारेज गर्न माग गरेको हो । महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि फिर्ता नलिए सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने बताएको छ ।


महासंघका अध्यक्ष रामहिरा पाठकले उद्योगीसँग समन्वय नगरी २०७५ सालमा ८०० प्रतिशत बढेको भाडा कार्यान्वयन गर्न नपाउने जिकिर गरेका छन् । उनले भाडावृद्धि गर्नु औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत भएको दाबी गरे ।

अध्यक्ष पाठकले भाडावृद्धि फिर्ता नभए उद्योगहरूले औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तिर्ने कुनै शुल्क नतिर्ने जिकिर गरे । उनले औद्योगिक क्षेत्र व्यवस्थापनले भुक्तानी रोक्का गरिएको आधार बनाई कुनै उद्योगलाई दबाब दिने वा कारबाही गर्ने कार्य भएमा लिमिटेडले त्यसको गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड न्यायिक, अर्धन्यायिक र प्रशासनिक निकाय नभएकोले लिमिटेडको निर्देशनात्मक निर्णय मान्न उद्योगहरू तयार नरहेको बताए । उनले औद्योगिक व्यवस्थापनमा सरकारको १०० प्रतिशत सेयर भएकोले यस अवस्थामा तालुक मन्त्रालयले हस्तक्षेप गरी सञ्चालक समितिलाई समस्या समाधानका लागि निर्देशन दिन समेत आग्रह गरे ।

महासंघले औद्योगिक व्यवस्थापनले लिएका निर्णय कार्यान्वयन भए चरणबद्ध रूपमा आन्दोलनमा जाने समेत बताएको छ । औद्योगिक व्यवस्थापनले उद्योगीहरूसँग समन्वय र छलफल बिना गरेको निर्णय व्यवसायीहरू मान्न तयार नभएको स्पष्ट पारेको छ ।   


Author

थप समाचार
x