उद्यम

उद्योग विभागले २ देखि १० करोडसम्मको वैदेशिक लगानी स्वीकृतका लागि स्वचालित प्रणाली लागू गर्दै

इकागज |
बैशाख ७, २०८० बिहीबार १६:५९ बजे

काठमाडौं- उद्योग विभागले विदेशी लगानीको स्वीकृति स्वचालित मार्गमार्फत गर्न सक्ने व्यवस्था गरेको छ ।​ विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हाललाई दुई करोडदेखि १० करोडसम्मका परियोजनाहरू प्रस्ताव भएका तोकिएका उद्योगहरूमा स्वचालित मार्गमार्फत विदेशी लगानी गर्न सक्ने व्यवस्था गरिएको जनाएको हो ।

उक्त प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै सरकारका सम्बद्ध निकायहरूसँग आबद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने गरी तयारी भइरहेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।


स्वचालित मार्ग अथवा अटोमेटिक रुटबाट विदेशी लगानीकर्ताले सतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौता मार्फत लगानी गर्न सक्ने, लगानी स्वीकृत गर्न विभाग आइरहनु नपर्ने उनले बताए ।

भारत, बङ्गलादेश लगायतका छिमेकी मुलुकहरूमा समेत यो प्रणाली लागू भइसकेको विभागले जनाएको छ । नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि उद्योग विभागले प्रशासनिक प्रकृयालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको विभागले जनाएको छ ।


Author

थप समाचार
x