उद्यम

सरकारले गाडीको एसेम्बलिङ प्लान्टमा उद्योगको अध्ययन गर्ने

इकागज |
मंसिर २९, २०७७ सोमबार १९:१२ बजे

काठमाडौं : सरकारले नेपालमा गाडी एसेम्बलिङ प्लान्टमा लगानी गर्ने उद्योगहरूको अध्ययन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको निर्णय अनुसार अध्ययनका लागि एउटा समिति गठन भएको छ । हालसम्म उद्योग विभागमा २२ वटाभन्दा बढी कम्पनी एसेम्बलिङ प्लान्ट स्थापनाका लागि दर्ता भएका छन् । विभागले त्यस्ता उद्योगको अध्ययन गरी सरकारलाई सुझाव दिनेछ ।

उद्योग महानिर्देशकको संयोजकत्वमा गठित यो समितिमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिस्ट्रार कार्यालयका उपसचिव सदस्य छन् । विभागबाट कानुन उपसचिव सम्मिलित यो समितिले नेपालमा एसेम्बलिङ प्लान्ट सम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार गर्ने छ । 


समितिले दुई पाङग्रे तथा चार पाङग्रे गाडी एसेम्बलिङ प्लान्टमा लगानी गर्ने उद्योगको पहिचान गर्नेछ । यस क्षेत्रमा लगानीका सम्भावनाहरुको अध्ययन गरी सरकारलाई नीतिगत सुधारका विषमा आवश्यक सुधार दिनेछ । अटोव्यवसाय क्षेत्रका विज्ञहरूसँग समेत छलफल गरी अन्य क्षेत्रमा के-के सुधार गर्न सकिन्छ, सुझाव दिने विभागले जानकारी दिएको छ । 

गत वर्ष नाडा अटो शोमा निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमै सवारीसाधन एसेम्बलिङ गर्ने कम्पनीलाई सरकारले नीतिगत संरक्षण र सहजीकरण गर्ने बताएका थिए । यद्यपि, सरकारकै नीतिगत कठिनाइका कारण एसेम्बलिङ उद्योगमा समस्या रहेको सञ्चालकहरु बताउँछन् ।

बेनलिनले हालसम्म नेपालमै ४ सय ८५ वटा स्कुटर एसेम्बलिङ गरी बिक्री गरेकामा बन्दाबन्दी सुरु भएयता कम्पनीको उत्पादन बन्द छ । बेनलिन मोटर्स पनि बन्दाबन्दीयता बन्द छ । नेपालमा एसेम्बलिङ गरिरहेका २ वटा चिनियाँ कम्पनी बन्द भए पनि बन्दाबन्दीकै बीचमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल उत्पादन सुरु गरेको छ । कम्पनीले सर्लाहीको सिमरास्थित आफ्नै प्लान्टमा भदौदेखि टीभीएसका सवारीसाधनको एसेम्बल सुरु गरेको हो ।

यसअघि हंशराज एन्ड हुलासचन्दले नेपालमै बजाजका मोटरसाइकल एसेम्बल सुरु गरिसकेको छ । बजाजले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट स्थापना गरी मोटरसाइकल उत्पादन सुरु गरेको हो । बजाज १२५ मोटरसाइकलको एसेम्बलबाट उत्पादन सुरु गरेको बजाजले हाल पल्सर, एभेन्जर, डिस्कोभर र प्लाटिना रेन्जका मोटरसाइकल उत्पादन गरिरहेको छ । अहिले भारतीय  कम्पनीबाटै पार्टस् आयात गरिरहेको बजाजले भविष्यमा नेपाली पार्ट्स प्रयोग गर्ने सोच बनाएको छ । यद्यपि, लकडाउनपछि कम्पनीको उत्पादनमा प्रभाव परेको छ ।

गोल्छा समूहको हुलास मोटर्स नेपालमा गाडी एसेम्बल गर्ने पहिलो कम्पनी थियो । मुस्ताङ ब्रान्डका गाडी एसेम्बल गर्ने हुलास मोटर्स सरकारको नीतिगत कारण देखाउँदै २०७२ देखि बन्द छ । दुई वर्ष पहिले लगानी बोर्डले चारपाङग्रे सवारी साधन एसेम्बलका लागि आवेदन दिएको कोरियाली कम्पनी मोट्रेक्सको १० अर्ब ५४ करोड लगानी स्वीकृत गरेपछि एसेम्बली प्लान्टको चर्चा चुलिएको थियो । मोट्रेक्सको आगमनसँगै नेपालमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि एसेम्बली प्लान्टमा चासो देखाउँदै उद्योग विभागमा कम्पनी दर्ता गराएको छ ।
 


Author

थप समाचार
x