वातावरण

कहिले हुन्छ मौसम सफा ?

इकागज |
बैशाख १८, २०८० सोमबार २०:७ बजे

काठमाडौँ- पश्चिमी वायुको न्यून चापीय रेखाका साथै स्थानीय वायुको प्रभावले देशभरको मौसम आइतबारदेखि बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यो मौसम प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभागअन्तर्गको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।


महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखिको मौसम बदली मङ्गलबार पनि उस्तै हुने र बुधबारदेखि केही कमजोर हुने जानकारी गराए ।

'वर्षा मङ्गलबार पहाडमा धेरै तराईमा केही घट्छ भने आज बेलुकादेखि कम हुँदै जानेछ । बुधबार पहाडी क्षेत्रमा मात्र केही वर्षा देखिन्छ,' उनले भने । मौसम बदलीसँगै भएको वर्षाले हिमाली क्षेत्रको पर्यटनमा अवरोध पुर्‍याएको छ । 

महाशाखाले पछिल्लो मौसमी आवस्थाबारे सम्बन्धित निकायमा खबर गरिसकेको जनाएको छ । महाशाखाले गरेको मौसमी विश्लेषणअनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने देशैभरका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ । मधेश प्रदेशका एक–दुई स्थानमा हावाहुरीकाे सम्भावनासमेत छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि देशैभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्र प्रभावित हुनसक्ने भन्दै त्यसबाट हुनसक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । रासस


Author

थप समाचार
x