जात्रा-पर्व

नयाँ वर्षलाई स्वागत गरी मनाइयो ग्याल्पो ल्होसार

इकागज |
फागुन ९, २०७९ मंगलबार २१:१ बजे

काठमाडौँ- प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । 

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार आज बाघ वर्षलाई बिदाई गरी खरायो वर्षलाई स्वागत गरेर मनाएका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ल्होसार शब्दले नयाँ वर्ष बुझाउँछ । आजदेखि शेर्पा समुदायको २१५० औँ साल सुरु भएको छ ।


ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाउन परम्परा शेर्पा समुदायमा छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले बताइन् । 

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

यस अवसरमा बौद्ध स्तूप र शेर्पा सेवा केन्द्रमा पूजाआजा गरिएको छ । पूजा आराधनासँगै शेर्पा समुदायको सांस्कृतिक नाच एवं भेषभूषा प्रदर्शन हुने गरी कार्यक्रमको आयोजना पनि गरिएको थियो । आज सुरु भएको ग्याल्पो ल्होसार शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी १५ दिन अर्थात् फागुन शुक्ल पूर्णिमासम्म मनाउँछन् ।


Author

थप समाचार
x