जात्रा-पर्व

बाँकेमा मुस्लिम मजारमा हिन्दुको मेला

इकागज |
पुस १६, २०८० सोमबार १३:३ बजे

फाइल तस्बिर

बाँके - बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाट समेत हजारौँ दर्शनार्थी आउने गरेका छन् । 

कम्मर शाह बाबा मेलामा सबै धर्ममा आस्था राख्ने सर्वसाधारणले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्व रहेको डुडुवा गाउँपालिका–५का वडाध्यक्ष झंकबहादुर थापको भनाइ छ । उनका अनुसार चार दिनसम्म सञ्चालन हुने मेलामा हिन्दू, मुस्लिमलगायत सबै धर्ममा आस्था राख्नेले बाबाको मजारमा पुगेर आफ्नो मनोकांक्षा राख्ने गरेका छन् । यहाँ राखेको मनोकांक्षा पूरा हुने जनविश्वास छ । 


मेलामा बाँके र बर्दियाका सर्वसाधारण सँगसँगै सीमावर्ती भारतीय क्षेत्र बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत भारतीय नागरिक मेला भर्न आउने गरेको स्थानीय अगुवा राजेन्द्र विश्वकर्माले बताए । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि हजरत बाबा कम्मर शाह मेला महत्वपूर्ण रहेको उनको भनाइ छ । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीमापर्ने हजरत कम्मर शाह बाबा मजार हिन्दू र मुस्लिम समुदायको आस्था र सद्भावको धरोहरको रुपमा छ । 

डुडुवा गाउँपालिका–५ मा हिन्दू र मुस्लिम धर्मावलम्बीको बसोबास छ । कम्मर शाह बाबाले सयौँ वर्ष पहिले उक्त स्थानमा कुटी बनाएर बसेको र कम्दीलगायतका गाउँबाट गाईभैँसी चराउन आउने यादव समुदायका मानिससँग घुलमिल हुँदै गएको स्थानीय अगुवा शकील अहमद खाँले बताए । 

यादवहरूको परिवारमध्ये कसैलाई स्वास्थ्य समस्या देखिँदा कम्मर शाह बाबाकै शरणमा जाँदा सबै समस्या निको हुने गरेको उनीहरूको विश्वास छ । 

कम्मर शाह बाबाको मजारमा पनि मुस्लिम, यादवलगायत विभिन्न समुदायका मानिसले प्रत्येक वर्ष च्यादर ओढाउने, भाकल गर्ने लगायतका कार्य गर्दै आएको स्थानीयवासी खाँको भनाइ छ ।
 
मेलाको उद्घाटनमा पूर्वमन्त्री मोहम्मद इस्तेयाक राई, लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवलगायतले हजरत बाबा कम्मर शाह मेलाको महत्वबारे चर्चा गरेका थिए । मेलामा यो वर्ष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको मेला समिति अध्यक्ष सगीर खानले जानकारी दिए । उनका अनुसार नवदुर्गा युवा क्लबले मेलामा आजदेखि डुडुवा गाउँपालिकास्तरीय नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्न लागेको हो ।


Author

थप समाचार
x