जात्रा-पर्व

किराँत समुदायले मनाए साकेला उधौली पर्व

इकागज |
पुस २१, २०८० शनिबार १९:३० बजे

काठमाडौँ- किराँत समुदायले काठमाडौँको टुँडिखेलमा साकेला उधौली मनाएका छन् । किराँत राई यायोक्खा काठमाडौँको आयोजनामा सकेला उधौली कार्यक्रमको आयोजना गरिएको हो ।

किराँत समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । पुष १० गते मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाइएपछि शनिबार भने साकेला उधौली उत्सवको आयोजना गरिएको हो ।


देशका विभिन्न जिल्लाबाट काठमाडौँ आएर बसिरहेका किराँती समुदायहरूले साकेला शिली नाच्दै शुभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले नेपाल बहुसांस्कृतिक, बहुभाषिक फूलवारी रहेकाले यसलाई बचाइराख्नुपर्ने बताए । उनले मुलुकको आर्थिक विकासको मेरुदण्ड पर्यटन भएकाले नेपालीपनको पर्यटन हुनुपर्ने धारणा राखे । मन्त्री किरातीले रैथाने स्वाद र स्वामित्वसहितको पर्यटनको विकास हुनुपर्ने बताए ।

साकेला पर्वमा परम्परागत वेषभूषामा सजिएर इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच नाच्ने गरिन्छ । किराँत समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ । किराँती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन् । 


Author

थप समाचार
x