अर्थ / बाणिज्य

रेकर्ड कायम गर्दै डलर बिहीबार हालसम्मकै उच्च

इकागज |
जेठ ५, २०७९ बिहीबार १६:३६ बजे

ग्राफिक: यमन मानन्धर

काठमाडौँ- बिहीबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। केही समययता निरन्तर उकालो लागेको अमेरिकी डलरको मूल्यले बिहीबार उच्च रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि निर्धारण गरेको अमेरिकी डलरको खरिद मूल्य १ सय २३ रूपैँया ८४ पैसा तथा बिक्री मूल्य १ सय २४ रूपैँया ४४ पैसा कायम गरेको छ यो हालसम्मकै उच्च हो ।

रुस- युक्रेन युद्धले विश्वभरि मै मूल्य वृद्धि भएको अवस्थामा लगानीकर्तालाई भरपर्दो विकल्प अमेरिकी डलर बन्दा पछिल्लो दिन यसको मूल्य उच्च हुँदै गएको छ। हाल विश्व व्यापारमा आयात निर्यात गर्दा डलरमा गरिने हुँदा यसको माग उच्च छ। डलरको मूल्य बढ्दा यसको प्रत्यक्ष असर नेपाललगायतका आयातमुखी अर्थतन्त्र भएका मुलुकलाई निकै असर गर्छ । नेपालले आयत गर्ने हरेक वस्तु अमेरिकी डलरबाट खरिद गर्नुपर्ने हुँदा महँगी झन्झन् बढ्दै जाने देखिन्छ ।


अमेरिकी डलर बलियो हुँदा नेपाल भित्रिने रेमिट्यान्सले भने अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । डलरको मूल्य बढ्दा अर्को लाभ लिन सक्ने क्षेत्र पर्यटन पनि हो । तर पछिल्लो समय रेमिट्यान्स र पर्यटन क्षेत्र पनि सुस्ताएको छ । आर्थिक वर्ष २०७८/७९ को चैत सम्मको तथ्यांकअनुसार नेपालमा रेमिट्यान्स  गत वर्षको तुलनामा ०.६ प्रतिशतले कमी आइ ७ खर्ब २४ अर्ब ७४ करोड भित्रिएको छ जुन पछिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १६.५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले जनाउँछ। यसरी हेर्दा पछिल्लो रेमिट्यान्समा पनि क्रमश कमी आएको छ।

यसरी विदेशी मुद्रा भित्र्याउने माध्यम अपेक्षित रूपमा सुधार हुन नसक्दा पछिल्लो समय विदेशी मुद्रा सञ्चिति मात्रा पनि घट्दै गएको छ। नेपालले आयात गर्ने वस्तुहरुको भुक्तानी डलरमा तिर्नुपर्ने हुन्छ । यसले गर्दा नेपालमा निर्यात हुनेभन्दा आयात हुने वस्तु निकै नै धेरै रहेकोले डलरको भाउ बढ्दा आयात गर्ने वस्तुमा समेत बढी शुल्क लाग्ने भएको छ । यसले गर्दा ती वस्तुहरुको भाउ महँगिनेछ । डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋण पनि डलरमा भुक्तानी गर्नुपर्ने हुँदा देशलाई थप भार पर्ने हुन्छ। 

डलर बढ्दा नेपालले लाभ लिन सक्ने अर्को क्षेत्र भनेको निर्यात हो तर नेपालबाट अन्य देशमा गरिने निर्यात नगन्य मात्र रहेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आयात १४ खर्ब ६६ अर्ब हुँदा निर्याततर्फ भने १ खर्ब ६० अर्ब छ। अर्थात नेपालको व्यापार घाटा १३ खर्बभन्दा बढी छ। यसले गर्दा डलरको मूल्य उकालो लाग्दै गर्दा यसले आयातमुखी अर्थतन्त्रलाई झन् समस्या पर्ने देखिन्छ ।


Author

थप समाचार
x