अर्थ / बाणिज्य

महालेखा प्रतिवेदन

बुटिक विमानस्थलको खर्च अपारदर्शी : ग्रास कटर मेसिन हुँदाहुँदै नयाँ किन्‍न सम्झौता

अतिन आचार्य |
साउन ६, २०७९ शुक्रबार १३:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट बनाउन सुरु भयो । सोही समयमा निर्माण हुँदा भएको सम्पूर्ण खर्चको विवरण अहिलेसम्म पनि पारदर्शी नभएकोमा महालेखा परीक्षकको कार्यालयले बारम्बार प्रश्‍न उठाउने गरेको छ।

बुटिक विमानस्थलको अवधारणा तथा आवश्यक कार्ययोजनाअनुसार विमानस्थल नबनाएको भन्दै समय-समयमा विवाद आउने गरेको छ । परीक्षकको कार्यालयले यस पटक पनि विमानस्थललाई आधुनिक सुविधा सम्पन्न बनाउन कार्ययोजना बन्न नसकेको प्रतिवेदनमा उल्लेख गरेको छ ।


महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा बुटिक विमानस्थलमा परिणत गर्दा भएको एकीकृत खर्च विवरण तयार नभएको उल्लेख छ । गत वर्षको प्रतिवेदनमा खर्चको विवरण नभएको औल्याउँदासमेत यस पटक पनि समाधान गर्न सकेको छैन ।

हालको विमानस्थललाई बुटिक विमानस्थलको रूपमा परिणत गर्न कुल ७ करोड ३५ लाख रुपैयाँ बजेटसहितको कार्यविधि २०७५ साल फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले पास गरेको थियो । ओली पर्यटन मन्त्रीको जिम्मेवारीसहित  तत्कालीन प्रधानमन्त्री ओली थिए ।

महालेखा परीक्षकको कार्यालयले यस वर्षको प्रतिवदेनमा बुटिक एयरपोर्ट निर्माण गर्दा खर्च अपारदर्शी भएको भन्दै छानबिनको आवश्यकता औंल्याएको छ ।

महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा लेखिएको छ,' प्राधिकरणले बुटिक एयरपोर्ट शीर्षकबाट टर्मिनल भवन बिस्तार, पुननिर्माण लगायतमा ३१ करोड २८ लाख ८४ लाखको सम्झौता भएकोमा उक्त शीर्षकबाट भएका सोसँग सम्बन्धित खर्चको एकीकृत विवरण तयार नहुनु । खरिद गरिएको सम्पूर्ण सामानहरूको विवरण तयार नहुनु । खरिद गरिएका सामग्रीहरू पहिचान हुन नसकेको र बुटिक एयरपोर्ट निर्माण गर्दा गरिएका खर्चहरू पारदर्शी छैनन् ।'

त्यस्तै, त्रिभुवन विमानस्थलले २०७२ सालमा किनेको 'कंक्रिट कटर' प्रयोगमा ल्याउन नसकेको प्रतिवेदनमा उल्लेख छ । भएका मेसिन प्रयोगमा नल्याई निष्क्रिय अवस्थामा राखिएको छ ।

विमानस्थलमा भएको ग्रास कटर खरिद गरे पनि हालसम्म प्रयोगमा ल्याउन सकेको छैन । 'ग्रास कटर' भए पनि नयाँ किन्नलाई सम्झौता खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त मेसिन २०७५ मा १ करोड ४० लाखमा खरिद गरिएको थियो ।

सोही स्थानमा दोस्रो एस्केलेटर जडान गर्न जग खन्दा पुरानो संरचनाको जग फुटाउन नमिलेको भन्दै पहिलो एस्केलेटरसमेत प्रयोगविहीन भएको छ । बिना तयारी खरिद गर्दा अनावश्यक खर्च बढी आर्थिक भार पर्न गएको पनि प्रतिवेदनमा औंल्याइएको छ ।

विमानस्थलको गोल्डेन गेटको पूर्वपट्टिको भवनमा भूमिगत पार्किङ सम्झौताविपरीत बनाइएको छ । स्वीकृत डिजाइन ३७ फिट रहेको भए पनि ५२ फिट उचाइ हुने गरी संरचना बनाएकाले सुरक्षाको दृष्टिकोणले जोखिम रहेको प्राधिकरणले जनाएको छ । प्रतिवेदनले गत वर्ष समस्या ‍औल्याए पनि समाधान नभएकाले पुनः प्रश्न तेर्स्याएको छ ।    


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x