अर्थ / बाणिज्य

फूलको मूल्य आकाशियो

लीलावल्लभ घिमिरे |
कात्तिक २७, २०७७ बिहीबार ७:३२ बजे

विराटनगर : तिहार आएसँगै बजारमा फूलको मूल्य बढेको छ । कोभिड-१९का कारण भारतबाट फूल नआएपछि बजारमा गत वर्षको दोबर मूल्यमा सयपत्री फूलका माला बिक्री भइरहेको छ । बजारमा अहिले एउटा सामान्य सयपत्री फूलको मालाको मूल्य ८० रुपैयाँ छ । जबकि गत वर्ष तिहारको समयमा त्यही माला ४० रुपैयाँ प्रति गोटा पाइन्थ्यो ।

तिहारसम्ममा एउटा सयपत्री फूलको मालाको मूल्य सय रुपैयाँ पुग्ने व्यापारीहरु बताउँछन् । ‘भन्सारबाट फूल आयात भएको छैन्,’ विराटनगरका एक फूल व्यापारीले भने, ‘चोरीवाटो बाट आएको हो त्यसैले महगो पर्छ ।' अहिले बजारका अधिकांश फूल पसलमा पाइने सयपत्री फूलका माला भारतबाट ल्याएका हुन् । तर विराटनगर भन्सार नाकाबाट यो वर्ष फूल नै आयात भएको देखिदैन् । फूलको मूल्य बढेपछि प्लाष्टिकका फूलको व्यापार बढ्न थालेको छ ।


गत वर्ष यो नाकाबाट ५७ लाख ९६ हजार मूल्य बराबरको ६३ हजार आठ सय २४ केजी फूल आयात भएको भन्सारको तथ्यांक छ । त्यसैगरी अघिल्लो वर्ष जोगबनी नाकाबाट ३५ लाख १२ लाख रुपैयाँको ६० हजार एक सय ८६ केजी फूल भारतबाट आयात भएको थियो । गत आर्थिक वर्षमा मात्र नेपाल सयपत्री तथा मखमली माला ३९ करोड आपूर्ति भएको थियो ।

चोरी बाटोबाट आएको भन्दै व्यापारीहरुले बढी मूल्यमा फूल बिक्री गरिरहेका छन् । फूल व्यापारी सत्य मण्डलले भने, ‘गत वर्ष ४० रुपैयाँमा बिक्री गरेको एउटा सयपत्री फूलको माला अहिले ८० रुपैयाँमा बिक्री गरिरहेका छौं । तिहार लागेपछि एउटाको मूल्य एक सय पुग्छ ।’ तिहारमा सयपत्रीको फूलका मालाको माग धेरै हुने गर्छ । नेपालमा उत्पादन भएको फूलले मागलाई धान्न सक्दैन । कोभिडका कारण भन्सार हुँदै फूल आउन छोडेपछि चोरी बाटोबाट बजारमा भारतीय फूल आइरहेको छ ।

देशका ७७ जिल्ला मध्ये ४३ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ । हाल लगभग एक सय ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको अनुमान छ । गत वर्ष मात्र ३३ करोड रुपैयाँभन्दा बढीको फूलका बिरुवाको व्यापार नेपालमा भएको थियो । यसै गरी आलंकारिक बोटबिरुवा ६४ करोड, कट फ्लावर्स  ३४ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग २६ करोड, खुल्ला फूल ११ करोड, सयपत्री तथा मखमली माला ३९ करोड आपूर्ति भएको थियो । आथिर्क वर्ष २०७५/७६ मा २० करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको थियो ।

धनकुटाको पात्ले गाउँमा मात्र सयपत्री र मखमली फूलको व्यावसायिक खेती गर्नेको संख्या एक सय ५० भन्दा बढी छ । उनीहरुले तिहारलाई लक्ष्यित गरी तीन सय रोपनीमा फूल लगाएका हुन् । अन्न, फलफूल र तरकारी खेती नहुने भिरालो र सेपिलो जमिनमा पनि मनग्गे फूल उत्पादन भएको छ । यो गाउँबाट मात्रै ७५ लाख रुपैयाँ बराबरको सयपत्री र मखमली फूलको कारोबार हुने अनुमान छ । 

एक करोडको झिलिमिली बत्ती र सवा आठ करोडको मसला आयात
तिहार र छठ पर्वलाई लक्ष्यित गरी जोगबनी नाकाबाट मात्र हालसम्म सवा नौ करोड मूल्य बराबरको सामान आयात भएको छ । एक करोड रुपैयाँभन्दा बढी बराबरको झिलिमिली बत्ती र सवा आठ करोडको मसला आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

विराटनगर भन्सारका अनुसार यसपटक १ करोड ३ लाख मूल्य बराबरका १ लाख ७९ हजार रुपैयाँको झिलिमिली बत्ती आयात भइसकेको छ । गत वर्ष यो नाकाबाट १ करोड ४८ लाख ३२ हजार मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको थियो । चालू आर्थिक वर्ष जोगबनी नाकाबाट नरिवल ५८ लाख ७१ हजार, काजु २ करोड ७७ लाख ३० हजार, हाडे बदाम ५ करोड ३ लाख ७१ हजार र किसमिस ८ लाख मूल्य बराबरको आयात भएको छ । 
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x