अर्थ / बाणिज्य

उद्योग वाणिज्य महासंघको चुनावी प्रचार तीव्र

लीलावल्लभ घिमिरे |
कात्तिक २८, २०७७ शुक्रबार १५:४३ बजे

धनकुटाकाे भेडेटारमा आयाेजित उद्याेगीहरूकाे भेला । तस्वीर : इकागज

विराटनगर : नेपाल उद्योग वणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समिति सदस्यहरूको निर्वाचनको मिति नजिकि‌दै जाँदा दुवै समूहले प्रचार–प्रसारलाई तीव्र बनाएका छन् ।

बरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूह बनाएर चुनावी मैदानमा छन् । ढकाल समूहको प्रचार–प्रसार यति बेला प्रदेश १ केन्द्रित छ भने प्रधानको प्रचार प्रसार प्रदेश ५ मा छ । 


महासंघको ५४ औं वार्षिक साधारण सभा  मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त सभाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समिति सदस्यहरूलाई निर्वाचित गर्नेछ । कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको हो । 

प्रदेश १ वाट महासंघको वरिष्ठ उपाध्यक्ष, प्रदेश सदस्य र खुल्ला सदस्यमा गरी अहिलेसम्म ९ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि विराटनगरका उद्योगी किशोर प्रधानको उम्मेदवारी छ । प्रधान प्रदेश १ को प्रचार प्रसार सकेर प्रदेश ५ मा केन्द्रित भएका छन् । 

प्रदेश १ को सदस्यका लागि उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष विराटनगरकै उद्योगी राजेन्द्र राउतले उम्मेदवारी दिएका छन् । यसैगरी खुल्ला केन्द्रीय सदस्यका लागि धनकुटाका उमेश घिमिरे, इटहरीका टंक दुलाल, ताप्लेजुङका तारा घिमिरे, झापाका टीकाराज ढकाल, उदयपुरका गजेन्द्रभगत र राजेश श्रेष्ठ, धरानका अशोक ताम्राकार र खोटाङका राजु लयालुको उम्मेदवारी छ । 

पटक–पटक रोकिए पनि सुनिश्चित भएको महासंघको राष्ट्रिय अधिवेशन हुने पक्का भएपछि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न जिल्ला दौडाहामा निस्केका छन् । प्रचार–प्रसारले तीव्रता पाएसँगै जिल्लाका उद्योग बाणिज्य संघ अध्यक्षहरुपनि धुव्रीकरण भएका छन् । 

बिहीवार धनकुटाको भेडेटारमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूह बृहत् भेला गर्‌यो । भेला प्रदेश १ लाई लक्ष्यित गरी आयोजना गरिएको थियो । 
भेलामा देशभरका ५७ जिल्लाका उद्योग वाणिज्य महासंघका जिल्ला अध्यक्षहरुको सभागिता भएको ढकाल पक्षको दाबी छ । भेलामा महासघंका पूर्व अध्यक्ष चण्डिराज ढकाललगायतको सहभागिता थियो । भेलामा ढकाल समुहवाट विभिन्न पदमा उम्मेदवार बनेकाहरुको सभागिता रहेको थियो । 

उद्योग वाणिज्यसंघ इटहरीका अध्यक्ष भीम पौडेल र धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईको संयुक्त अध्यक्षतामा उक्त भेला भएको थियो । 
वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल आफ्नो समूह बलियो भएको दावी गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क छन् । 

यसैगरी प्रदेश १ मा विभिन्न चरणमा प्रचारप्रसार सकेर अहिले आफ्नो प्रचार–प्रसार प्रदेश ५ केन्द्रित बनाएको अर्को उम्मेदवार किशोर प्रधानले बताए । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x