अर्थ / बाणिज्य

ट्युबेलमार्फत बाह्रै महिना सिँचाइले हराभरा खेतबारी

इकागज |
जेठ १४, २०८० आइतबार ९:४४ बजे

भरतपुर। चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो ।    
    
सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डिप ट्युबेल र तीन सय ६० वटा स्यालो ट्युबेल जडान गरिएको आयोजना प्रमुख देवकुमार स्याङ्बोले बताए । उनका अनुसार यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ । विशेष गरेर कुलो, नहर नभएको र भएर पनि नियमित पानी नआउने ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान गरिएको उनले जानकारी दिए । पश्चिम चितवनका कतिपय ठाउँमा अहिले बाह्रै महिना सिँचाइमार्फत खेती गरिएको स्याङ्बोले बताए ।    
    
आयोजनाले स्यालो ट्युबेल पूर्ण अनुदानमा उपलब्ध गराउँदै आएको छ । डिप ट्युबेलका लागि पाँच प्रतिशत जनसहभागिता आवश्यक पर्छ । त्यसका लागि किसानले श्रमदान पनि गर्न सक्नेछन् । “चार बिघासम्म जग्गा भएको क्षेत्रमा स्यालो ट्युबेल उपलब्ध गराइएको छ”, स्याङ्बोले भने, “किसान सानो समूह बनाएर आउने गर्नुभएको छ ।” यस्तै डिप ट्युबेलका करिब ४० बिघा जग्गा क्षेत्रफल भएमात्र उपलब्ध गराउन सकिने उनले बताए । “ट्युबेलमार्फत सिँचाइ गर्न किसानले रुचाएका छन्, कार्यालयले माग धान्न सक्ने अवस्था छैन”, उनले भने । धेरै जग्गा आवश्यक पर्ने भएका कारण पनि डिप ट्युबेलमा किसानको आकर्षण कम भएको उनको भनाइ छ । चितवनमा भूमिगत सिँचाइ लागू भएपछि बाह्रै महिना सिँचाइ गर्दा पनि पानीको सतह घटेको छैन । नारायणी र राप्तीको दोभान भएका कारण यहाँ पानीको समस्या नभएको आयोजना प्रमुख स्याङ्बोले बताए ।    
    
बाह्रै महिना चाहेको समयमा सिँचाइ गर्न पाएपछि चितवनका किसान भूमिगत सिँचाइमा आकर्षिक छन् । भरतपुर महानगरपालिका २२ गर्भेटाँडीकी इन्दिरा बोटे सिँचाइमार्फत बाह्रै महिना खेती गर्न पाउँदा निकै खुसी छिन् । “बोरिङ नहुँदा त खेती नै हुँदैन्थ्यो । जग्गा बाँझो राख्नुपर्ने बाध्यता थियो”, उनले भनिन्, “आकाशबाट पानी नपरे बाँझै हुन्थ्यो । डिपबोरिङ जोेडेपछि निकै सहज भएको छ ।” एकपटक खेत रोपेपछि आफ्नो गाउँ मरुभूमिजस्तो हुने गरेको उनले अनुभव सुनाइन् ।    
    
पाँच कठ्ठा जमिनमा मकै लगाएकी सोही ठाउँकी कमला ढकाल विगतमा बाँझै हुने जमिनमा मकै फलेको देख्दा आफैँ दङ्ग छिन् । “अहिले तोरी पनि राम्रो भयो”, ढकालले भनिन्, “मकै यति राम्रा भएका छन् ।” बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै बेमौसमी खेती लगाउन सकिने उनले बताइन् ।    
    
भरतपुर २२ का वडाध्यक्ष विष्णुराज महतोले आफ्नो वडाका सुक्खा ठाउँ अहिले हराभरा भएको बताइन् । “यहाँ किसानले खेती लगाएपछि मात्र पानी आउथ्यो । यहाँका किसानले जेनतेन धानखेती गर्थे । अहिले मकै र तरकारी हराभरा छ । कृषिको आधार प्रविधि भन्ने कुरा भूमिगत जल सिँचाइले पुष्टि गरेको छ”, उनले भनिन्।    
भरतपुर महानगरपालिकाले भूमिगत सिँचाइलाई प्राथमिकता दिइरहेको बताएको छ । पाँच वर्षको अवधिमा विभिन्न आयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । “भूमिगत सिँचाइ, महानगर, कृषि ज्ञान केन्द्र चितवनबाट चितवनका सिँचाइका कार्यक्रम अगाडि बढेका छन्”, उनले भनिन्, “भरतपुरमा सिँचाइमा कृषि क्रान्ति नै भएको छ ।” अबको चार वर्षभित्र महानगरपालिकाभित्रका सबै जमिनमा सिँचाइ पुग्ने उनले बताइन् । भरतपुरमा नौ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकामा हालसम्म दुई हजार एक सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनको भनाइ छ । रासस



Author

थप समाचार
x