अर्थ / बाणिज्य

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन गर्न सुरु

इकागज |
मंसिर २९, २०८० शुक्रबार १९:५४ बजे

फाइल तस्बिर

काठमाडौँ- चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ । बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो ।

केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको थियो । सम्झौतामा समिति र प्रा.लि.बीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम् सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुरुप शुक्रबारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टि आर एस लोजिपार्कले लिएको छ ।


सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका ७ वटै पोर्टहरू निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सकेको उनले जानकारी दिए । उनले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताए । उनले सुख्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानीपनि बढ्ने बताए । उनले सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिँदा सेवा र आम्दानीको हिसाबले राम्रो परिणाम देखाएको बताए ।

उनले सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफूहरूको उद्देश्य रहे पनि काठमाडौँ-तराई-मधेस द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताए । यद्यपी आफूहरूले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोसिस गर्ने बताए ।

सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.ले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमूनाको रूपमा विकास गर्ने बताएको छ । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.का प्रतिनिधि अनन्त सिंहले आफूहरूले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताए । उनले चोभारलाई नमुनाको रूपमा विकास गर्ने उल्लेख गरे ।

उनले चोभार सुख्खा बन्दरगाहलाई राम्रोसँग सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

 


Author

थप समाचार
x