अर्थ / बाणिज्य

उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकको ७ अर्ब ऋण

इकागज |
जेठ २९, २०७८ शनिबार १३:२६ बजे

काठमाडौँ : नेपालमा उच्च शिक्षा सशक्तीकरणका लागि विश्व बैंकले ६ करोड अमेरिकी डलर (७ अर्ब  रुपैयाँ) ऋण स्वीकृत गरेको छ ।  विश्व बैंकको बोर्डले शुक्रबार उक्त ऋण सहयोग स्वीकृत गरेको हो । यो ऋण उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन सिकाइ तथा विपन्न र जोखिममा रहेका विद्यार्थीहरूका लागि शैक्षिक संस्थाहरूमा प्रवेश (पहुँच) बढाउन प्रयोग गरिने बताइएको छ । 

विश्व बैंककातर्फबाट नेपाल, मालदिभ्स र श्रीलंकका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले कोभिड–१९ ले मानवपुँजी विकासको ठूलो महत्व अनुभूत गराएको भन्दै महामारीग्रस्त अर्थतन्त्र र जनस्वास्थ्य संकटबाट पहिलेभन्दा राम्रो अवस्थामा आउन शिक्षाको गुणस्तर सुधार यसका लागि प्रमुख कदम हुने बताएका छन् ।


‘महामारीपछिको पुनरुत्थान, उत्थानशील अर्थतन्त्रको सशक्तीकरण र श्रम बजारको आवश्यकता अनुसारको सीपयुक्त जनशक्ति उत्पादनका लागि उच्च शिक्षाको गुणस्तर सुधार अपरिहार्य छ,’ जर्भोसले भनेका छन् ।

उच्च शिक्षामा विशिष्टता अभिवृद्धि गर्ने यो कार्यक्रमले नेपालको शिक्षा परियोजनालाई परिणाममा आधारित रहेर लगानी गर्नेछ । यसले नेपाललाई श्रम बजारका आवश्यकता, उद्यमशीलता विकासका लागि संयुक्त अनुसन्धान, प्रशासन र सेवा प्रवाहमा सुधार र खासगरी विपन्न विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षामा पहुँच वृद्धि गर्नेछ । कोभिड–१९ महामारीले विश्वविद्यालयहरूमा समेत मिश्रित सिकाइ र अनलाइन प्लेटफर्महरूलाई प्रोत्साहन गरेको छ, जसलाइ यो कार्यक्रमले मुलुकभर विस्तार गर्नेछ । 
 


Author

थप समाचार
x