अर्थ / बाणिज्य

बङ्गलादेशसँग १० वर्षदेखि लगातार व्यापार घाटा

आठ महिनामा दुई अर्ब ४३ करोड ८ लाख ९० हजार व्यापार घाटा

नेपालले बङ्गलादेशसँगको व्यापार कुनै पनि वर्ष सन्तुलनमा ल्याउन सकेन

इकागज |
चैत २०, २०८० मंगलबार १७:४ बजे

झापा- नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०/८१ को चालु आठ महिनामै रु दुई अर्ब ४३ करोड आठ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ ।

नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रूपमा पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहन मार्ग प्रयोग हुँदै आएको छ । नेपाल, भारत र बङ्गलादेशबीचको त्रिदेशीय समझदारीअनुसार भूपरिवेष्ठित मुलुक भएकाले नेपालले यो सोझो पारवहन मार्ग पाएको हो । त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत हुने व्यापारको अंश निकै कम छ ।


मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७१/७२ यता नेपालले बङ्गलादेशसँगको व्यापार कुनै पनि वर्ष सन्तुलनमा ल्याउन सकेको छैन । 

चालु आवको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ५९ करोड ६५ लाख ३१ हजार मूल्य बराबरको मालसामान आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । सोही अवधिमा बङ्गलादेशतर्फ रु १६ करोड ५६ लाख ४२ हजार मूल्य बराबरको सामान निर्यात भएको छ ।

बङ्गलादेशसँग आव २०७९/८० मा रु पाँच अर्ब १८ करोड नौ लाख १३ हजार, आव २०७८/७९ मा रु १० अर्ब ३८ करोड ३० लाख ३५ हजार, आव २०७७/७८ मा रु छ अर्ब ५४ करोड ७४ लाख एक हजार, आव २०७६/७७ मा रु चार अर्ब २४ लाख आठ हजार, आव २०७५/७६ मा रु दुई अर्ब ४४ करोड ५० लाख ३७ हजार र आव २०७४/७५ मा रु ४५ करोड ५५ लाख ६५ हजार व्यापार घाटा भएको भन्सारको तथ्याङ्क छ ।

यसैगरी, आव २०७३/७४ मा रु दुई अर्ब ८६ करोड ८९ लाख ८१ हजार र आव २०७१/७२ मा रु एक अर्ब ४० करोड ९७ लाख १३ हजार व्यापार घाटा भएको छ । त्यसअघिका चार वर्ष बङ्गलादेशसँगको व्यापारमा नाफामा रहेको देखिन्छ ।

आव २०७०/७१ मा आयातको तुलनामा रु ६० करोड ७७ लाख १२ हजार मूल्य बराबरको सामान बङ्गलादेश निर्यात भएको थियो । उक्त आवमा बङ्गलादेशबाट रु एक अर्ब ४८ करोड ९० लाख ४२ हजार मूल्य बराबरको मालसामान आयात भएको थियो भने नेपालबाट रु दुई अर्ब नौ करोड ६७ लाख ५४ हजार मूल्य बराबरको सामान बङ्गलादेश निर्यात भएको थियो । 

यसैगरी, आव २०६९/७० मा रु ५८ करोड २७ लाख ४९ हजार, आव २०६८/६९ मा रु एक अर्ब १४ करोड ९० लाख ११ हजार र आव २०६७/६८ मा रु दुई अर्ब ३९ करोड ६९ लाख ११ हजार व्यापार नाफा भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले बङ्गलादेशमा नेपाली उत्पादन निर्यात गर्ने विषयमा सरकारले चासो बढाउनुपर्ने धारणा राखे । चार वर्षदेखि पूर्वी नाका (स्थलमार्ग) बाट बङ्गलादेशी पर्यटक आगमनमा भारतीय पक्षको नीतिगत अवरोध भइरहेको जनाउँदै उहाँले पर्यटक आगमनको वातावरण बनाउन सके व्यापारमा समेत चहलपहल बढ्ने बताए ।

'कोभिडदेखि काँकडभिट्टाबाट बङ्गलादेशी पर्यटक आउन ठप्प भइरहेको छ,' उनले भने, 'नेपाली अलैँची, अदुवा, इस्कुस, किबी जस्ता कृषि उपजको बङ्गलादेशमा ठूलो माग छ । निर्यात कसरी गर्ने भन्ने बारेमा नेपाली पक्षले छलफल नै चलाएको छैन ।' रासस


Author

थप समाचार
x