अर्थ / बाणिज्य

आर्थिक पुनरुत्थानका लागि विश्व बैंकको १७ अर्ब ६४ करोड ऋण

इकागज |
असार ३, २०७८ बिहीबार ११:२७ बजे

काठमाडौँ : विश्व बैंकले नेपालमा कोभिड–१९ महामारी प्रताडित अर्थतन्त्र पुनरुत्थानका लागि १५ करोड अमेरिकी डलर (१७ अर्ब ६४ करोड रुपैयाँ बराबर) ऋण दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरू सम्मिलित सञ्चालक समितिले नेपाललाई उक्त ऋण सहयोग अनुमोदन गरेको छ । नेपाली अर्थतन्त्रको उत्थानशील पुनरुत्थान तथा जोखिममा रहेका कमजोर वर्गलाई संरक्षणका साथै दीगो आर्थिक वृद्धि हासिल गर्नका लागि यो ऋण सहयोग परिचालन हुने बताइएको छ ।

‘महामारीको आर्थिक र सामाजिक प्रभावबाट तत्काल राहत दिनु हाम्रो प्राथमिकता हो । सोही अनुसार नेपालको हरित, उत्थानशील र समावेशी पुनरुत्थानका लागि विश्व बैंकले यो सहायता प्रदान गर्ने निर्णय गरेको हो,’ नेपाल, मालदिभ्स र श्रीलंकका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भनेका छन् ।  


आर्थिक विस्तार, पुनरुत्थान र उत्थानशीलताका लागि बजेटमा कार्यक्रमगत सहायताले नेपालका संस्थाहरूको सशक्तीकरण, नियमन, कर र भन्सार प्रणालीको सुदृढीकरण, ऋण व्यवस्थापन र सार्वजनिक पुँजी लगानीमा सहयोग गर्ने उल्लेख छ । यसले तत्कालीक स्वास्थ्य संकटविरुद्ध प्रतिकार्य, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, पुँजी र पुँजी र डिजिटल सोलुसनमा निजी क्षेत्रको पहुँच अभिवृद्धि र हरित अर्थतन्त्र विकासका लागि नियामकीय जग निर्माणमा समेत यो ऋण परिचालन हुनेछ । 

‘यो डेभलपमेन्ट पोलीसी क्रेडिट (बजेटमा आधारित सहायता) नेपालले सामाजिक र आर्थिक क्षति न्यूनीकरणका लागि गरेको प्रयासलाई समर्थन गर्दै उत्थानशील अर्थतन्त्र विकासका लागि संरचनागत समस्या निवारणका लागि प्राप्त भएको हो,’ यो कार्यक्रमकी टिम लिडर एवं विश्व बैंककी वरिष्ठ अर्थशास्त्री केने एजमेनारीलाई उद्धृत गर्दै विश्व बैंकको नेपाल कार्यालयले भनेको छ । 

विश्व बैंकले कोभिड–१९बाट उत्पन्न जनस्वास्थ्य संकट न्यूनीकरण तथा आर्थिक र समाजिक प्रभाव क मगर्दै आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता विश्वका अन्य विकासशील देशलाई सहयोग गर्न गत वर्ष १२ अर्ब अमेरिकी डलरको प्याकेज घोषणा गरेको थियो । 


Author

थप समाचार
x