अर्थ / बाणिज्य

सम्झौताविपरीत बिक्यो मणिपाल

अनिष भट्टराई |
भदौ १२, २०७८ शनिबार १९:१९ बजे

पोखरा – नेपाल सरकार र मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपबीचको सहमति लत्याउँदै मणिपाल अस्पताल बिक्री भएको खुलेकाे छ । सरकारसँग मणिपालले गरेको सम्झौतामा बीचमा बेच्‍न/हस्तान्तरण गर्न नपाइने प्रावधान राखिएको छ । तर मणिपाल ग्रुप भने पोखराका २ व्यवसायीलाई ३ अर्ब २२ करोड ६० लाखमा बेचेर बाहिरिन लागेको हो । ‘उक्त ४९ वर्षको अवधि समाप्त भएपछि वा बिचैमा दोस्रो पक्षले उक्त जग्गा छाडी जाने भएमा भू–बहाल रकम प्रथम पक्षले फिर्ता नदिने र उक्त जग्गामा उपलब्ध भौतिक सुविधाहरू अरूलाई हस्तान्तरण गर्न नपाउने गरी यथास्थितिमै प्रथम पक्षलाई नै छोडेर जानुपर्नेछ । सोवापत प्रथम पक्षले दोश्रो पक्षलाई कुनै पनि रकम दिनुपर्ने छैन ।’ सम्झौतामा लेखिएको छ ।

मणिपाल ग्रुपले १९९२ मा नेपाल सरकारसँग सम्झौता गरेर मेडिकल कलेज स्थापना गरेको थियो । सरकारले मणिपाललाई ४९ वर्षको अवधि दिएको थियो । तर २७ वर्षमात्रै चलाएर २२ वर्ष सम्झौता अवधि बाँकी छँदै भारतीयले कलेज र अस्पतालबाट लगानी झिकेका हुन् । 


मणिपाल शिक्षण अस्पतालको सेयर खरिद सम्झौता शुक्रबार भएको छ । दुई पोखरेली व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त लगानीमा किन्ने गरी सेयर खरिद सम्झौता गरेका हुन् । बतास समूह चलाइरहेका आनन्दराज बतास र अटोवेज ग्रुपका नारायण पौडेलले ३ अर्ब २२ करोड ६० लाखमा मणिपाल किनेका हुन् । बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानी गरेर अस्पताल किनेको पौडेलले बताएका छन् । 

नेपाल सरकारसँग सहमति अनुसार संचालनकाे ४९ वर्षपछि सरकारकाे हुनेगरी खुलेको मेडिकल कलेज बेचेर भारतीय कम्पनी बाहिरिन लाग्दा पनि सरकार भने मौन छ । शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारी मन्त्रालयलाई आधिकारिक जानकारी नआएको बताउँछन् । 

यस्तो अवस्थामा सरकार मौन बस्नु शंकास्पद रहेको अधिवक्ता खगेन्द्र सुवेदीको भनाइ छ । नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनी बेचेर भारतीय कम्पनी स्वदेश पस्न लाग्दा पनि आधिकारिक जानकारी पाएनौं भनेर बस्नु गलत रहेको उनको तर्क छ । ‘मन्त्रालयले सबैतिरबाट जानकारी लिने हो । यत्रो मिडियामा लगातार आइरहँदा थाहा छैन भन्नु शंकास्पद छ,’ उनले भने । सरकारले अब मणिपाल ग्रुपसँग स्पष्टीकरण सोधेर किनबेचलाई बदर गर्नुपर्ने सुवेदीले बताए । सरकारले यस विषयमा काम नगरे सार्वजनिक महत्त्वको विषय भएकाले जनताले नै अदालतमा रिट दिए किनबेच बदर हुनसक्ने उनको भनाइ छ ।

कलेज र अस्पताल दुवैको मूल्यांकन गर्दा अस्पतालको मूल्य २ अर्ब २५ करोड छ । यसका साथै अस्पतालको ४० रोपनी जग्गा र ९७ करोड दायित्व गरेर सवा ३ अर्बमा अस्पताल बिक्री भएको हो अस्पताल सञ्चालनका लागि आनन्दराज बतासको अध्यक्षतामा चार सदस्यीय बोर्ड बन्ने छ । उपाध्यक्षमा नारायण पौडेल रहनेछन् भने सदस्यमा आनन्दका २ भाइ शान्तराज बतास र बिपिन बतास हुनेछन् ।  

७ सय ५० शय्याको अस्पतालमा ११ सय कर्मचारी कार्यरत छन् । कलेजबाट वर्षेनी १ सय जना विद्यार्थीलाई एमबीबीएस पढ्ने अनुमति छ । ५ वर्षसम्म मणिपालकै नाममा स‌ंचालन हुने र त्यसपछि नाम परिवर्तन गरिने भएको छ । तर मणिपाललगायत नेपालका सबै निजी चिकित्सा शिक्षण संस्था भने अबको ७ वर्षमा गैरनाफामूलक बन्दैछन् । २०७५ मा पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनले नेपालका निजी चिकित्सा शिक्षण संस्था गैरनाफामूलक र सेवामूलक हुनुपर्ने प्रावधान राखेको छ । ‘ऐन प्रारम्भ भएको मितिले दश वर्षपछि नेपाल राज्यभित्र सञ्चालित चिकित्सा शिक्षण संस्था क्रमशः गैर नाफामूलक र सेवामूलक संस्थाका रुपमा रहनेछन्,’ ऐनको दफा ४७ ले भनेको छ । तर त्यसअगावै सम्पत्ति हस्तान्तरण गर्न चाहेमा भने सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्ने प्रावधान पनि ऐनमा छ । 

तस्बिरहरू साभार : गन्थनडटकमबाट


Author

थप समाचार
x