अर्थ / बाणिज्य

तरलता समस्या समाधानका लागि बैंकहरू संयमित हुन आवश्यक : गभर्नर अधिकारी

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १८:१७ बजे

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन बैंक तथा वित्तीय क्षेत्रहरूलाई सुझाव दिएका छन् । मंगलबार काठमाडौंमा नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सो सुझाव दिएका हुन् । 

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैंकहरू संयम हुन उनले सुझाव दिएका छन् । उनले कोभिडपछि अर्थतन्त्र पुनरुत्थानले गति लिएका कारण पनि समस्या देखिएको धारणा राखे । गभर्नर अधिकारीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्दा मुलुकको अर्थतन्त्रमा सहयोग गर्ने बताए । 
साधारणसभाबाट संघले नयाँ कार्यसमिति चयन गरेको छ । वर्तमान अध्यक्ष भुवकुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो ।


उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार मिश्र, मेगा बैंकी अनुपमा खुण्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपककुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।


Author

थप समाचार
x