अर्थ / बाणिज्य

पुनरुत्थानतर्फ चिनियाँ अर्थतन्त्र

इकागज |
कात्तिक ४, २०७७ मंगलबार ९:५८ बजे

काठमाडौं : सन् २०२० को तेश्रो त्रैमासमा चीनको कुल गार्हस्थ उत्पादन ४.९ प्रतिशतले विस्तार भएको छ । कोरोना भाइरस महामारीका कारण पहिलो त्रैमासमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र र औद्योगिक उत्पादनको केन्द्र चीनको आर्थिक वृद्धिदर ऋणात्मक थियो । सन् २०२० को पहिलो तीन त्रैमासमा चीनको औसत आर्थिक वृद्धिदर धनात्मक भएको हो । चीनको राष्ट्रिय तथ्यांक केन्द्रले जनवरीदेखि सेप्टेम्बरसम्मको आर्थिक वृद्धिदर ०.७ प्रतिशत रहेको उल्लेख गरेको छ ।

सोमबार सार्वजनिक भएको तेश्रो त्रैमासको तथ्यांकअनुसार चीनको खुद्रा व्यापार ३.३ प्रतिशतले बढेको छ । यसअघि अगष्ट महिनामा अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतमात्र खुद्रा व्यापार बढेको थियो । अधिक जनसंख्या भएको चीनले आफ्नो देशभित्रै उपभोग बढाएर पनि आर्थिक वृद्धिलाई तीव्रता दिन सक्ने विश्लेषकहरु बताउँछन् । जुलाईदेखि सेप्टेम्बरसम्म व्यापारिक केन्द्रहरु, पर्यटन क्षेत्र, रेष्टुराँ, हवाई यातायात र रेललगायत यातायात क्षेत्रका गतिविधि सुचारु भएपछि पुनः पुरानै उत्साह देखिएको छ ।


विश्वका अन्य देशहरु कोरोना भाइरस महामारी र त्यसबाट उत्पन्न आर्थिक मन्दीसँग संघर्ष गरिरहँदा चीन भने आर्थिक पुनरुत्थानको मार्गमा फर्किसकेको विश्लेषकहरुले बताएका छन् । चीनको औद्योगिक उत्पादन गत वर्षको तुलनमा सन् २०२० को पहिलो नौ महिनामा ५.८ प्रतिशतले बढेको छ ।

त्यस्तै, निर्यात गत वर्षको तुलनामा १०.२ प्रतिशतले बढेर ५,००० अर्ब युआन पुगेको छ  भने आयात ४.३ प्रतिशतले बढेर ३,८८० अर्ब युआन रहेको छ । यही वर्षको नौ महिनाको अवधिमा स्थिर सम्पत्ति लगानी अभूतपूर्व रुपमा वृद्धि भई गत वर्षको तुलनामा ०.८ प्रतिशतले बढेको छ । पूर्वाधारमा लगानीको  प्रतिफल,  निर्माण सामग्री र निर्माण उपकरणको बिक्रीमा सुधारका कारण तेश्रो त्रैमासमा मात्र स्थिर सम्पत्ति लगानी अत्याधिक बढेको हो ।

बेइजिङ इकोनोमिक अपरेसन एसोसिएसनकी उपनिर्देशक तियान सुनले महामारी नियन्त्रणको प्रभावकारी कदम तथा सरकारको परिपक्वताले उपभोक्तामा उत्साह देखिएको उल्लेख गरेकी छिन् । ‘आशातीत निर्यात र लगानीले मानिसहरुको आय बढेको छ जसले गर्दा उनीहरुको उपभोग खर्च पनि बढेको हो,’ तियानले भनिन् । चीनमा प्रतिव्यक्ति खर्चयोग्य आय सन् २०२० को पहिलो नौ महिनामा २३,७८१ युआन अर्थात् ३ हजार पाँच सय ४९ अमेरिकी डलर पुगेको छ । खर्चयोग्य आयमा गत वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशतले बढेको छ । कोरोना भाइरस महामारीको उद्गम चीनमा महामारीपछि पहिलोपटक अर्थतन्त्रका परिसूचकहरु सकारात्मक देखिएका छन् ।

चिनियाँ कम्युनिकेसन ब्यांकका अर्थशास्त्री लिउ सुझीले सन् २०२० को दोस्रो त्रैमास (अप्रिल–जून) मा सुदृढ उत्पादनका बाबजुद माग पक्ष कमजोर भएकाले अर्थतन्त्रमा सुधार हुन नसके पनि तेश्रो त्रैमास (जुलाइ–सेप्टेम्बर) मा भने माग बढ्न थालेपछि अर्थतन्त्र पुनरुत्थानले गति लिएको उल्लेख गरेका छन् ।

यद्यपि रेन्मिन विश्वविद्यालयका अनुसन्धान कार्यक्रम निर्देशक झो लिंकुइले सरकारले सशक्त प्रोत्साहनका कार्यक्रम नल्याउँदा अहिले पनि उपभोगको अवस्थामा पर्याप्त सुधार आइनसकेको धारणा राखे । उनले चीनको आर्थिक वृद्धिदर उपभोक्ताको खर्चमा निर्भर हुने भएकाले सरकारको सशक्त प्रोत्साहन कार्यक्रम आए त्यसले अझै गति लिने उल्लेख गरे । यसका अतिरिक्त उपभोक्ता मूल्यवृद्धि, सेप्टेम्बरमा अझै कम देखिन्छ जसले अहिलेको आर्थिक विस्तारको गतिमा ब्रेक लाग्न सक्ने विश्लेषण गरिएको छ ।

यस वर्ष वर्षायामको बाढी र विश्वव्यापी लगानी र स्वतन्त्र व्यापारमा परेका असरका कारण आर्थिक विस्तार अझै कम भएको भन्दै तियन्जिन विश्वविद्यालयका प्राध्यापक कोंग यीले अहिलेका तथ्यांक सापेक्ष रुपमा सामान्य रहेको बताए । ‘विश्वव्यापी मन्दिमा रहेको विश्व अर्थतन्त्रलाई चिनियाँ आर्थिक वृद्धिले नेतृत्व गरेको छ,’ कोंगले भने । विश्लेषकहरुले तेश्रो त्रैमाससम्मको आर्थिक विस्तारले सन् २०२० मा चीनको वार्षिक वृद्धिदर २ देखि ३ प्रतिशत पुग्नसक्ने अनुमान गरेका छन् । ‘महामारीले चीनमा निर्यात गरिरहेका उदयमान अर्थतन्त्रहरु प्रभावित भएर चीनमा आपूर्ति गर्न सकिरहेका थिएनन्, तर विस्तारै यिनीहरुले पनि चीनमा निर्यात शुरु गरिसकेकाले आपूर्ति श्रृंखलामा सुधार भई औद्योगिक उत्पादन विस्तार हुने अपेक्षा गरिएको छ,‘ तियानले भनेकी छिन्, ‘यसले गर्दा चौथो त्रैमासमा चीनको आर्थिक वृद्धिदर कम्तीमा ६ प्रतिशत र वार्षिक आर्थिक वृद्धिदर २ देखि ३ प्रतिशत प्रतिशत हुनसक्ने अनुमान छ ।'

चीनको झिसीन इन्भेस्टमेन्ट रिसर्च इन्स्टिच्यूटले अन्तिम त्रैमासमा चीनको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने र वार्षिक आर्थिक वृद्धिदर २.७ देखि ३.३ प्रतिशत हुने छुट्टै अनुमान सार्वजनिक गरेको छ । यद्यपि, तियानले भने चीनको श्रम बजारले अझै विकराल चुनौतीहरु सामना गरिरहनुपरेकाले अति प्रभावित सेवा क्षेत्रको पुनस्र्थापना श्रम बजारमा सुधारका लागि अपरिहार्य रहेको बताइन् । चीनको सहरी क्षेत्रको बेरोजगारी दर ५.४ प्रतिशत छ । अगस्ट महिनाको बेरोजगारी दर ५.६ प्रतिशतभन्दा सेप्टेम्बरमा सामान्य सुधार भएको छ ।

चिनियाँ घरपरिवारले अझै धेरै ऋण लिएकाले कूल गार्हस्थ उत्पादन (जीडीपी) मा घरयासी क्षेत्रको ऋणको अनुपात अझै बढेको छ र यो वर्ष जीडीपीमा घरयासी ऋणको हिस्सा अझै वृद्धि हुने जोखिम देखिएको छ । 
महामारीकै बीच चीनले गरिबी निवारणसम्बन्धी लक्ष्य हासिल हुने घोषणा गरेको छ । चीनको ग्रामीण र अविकसित क्षेत्रमा क्षेत्रमा रोजगारी सिर्जना  र आय आर्जनका क्रियाकलाप प्रभावकारी भएकाले गरिबी निवारणको राष्ट्रिय लक्ष्य प्राप्ति हुने भएका हो । 
(ग्लोबल टाइम्सबाट)


Author

थप समाचार
x