अर्थ / बाणिज्य

सुमार्गीको हेलो नेपाल मोबाइलको लाइसेन्स खारेज

इकागज |
मंसिर १२, २०७८ आइतबार ११:४२ बजे

काठमाडौँ- व्यवसायी अजयराज सुमार्गीको मोबाइल सेवा कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमतिपत्र खारेज भएको छ । समयभित्र बक्यौता नतिरेपछि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हेलो नेपालको अनुमतिपत्र खारेज गरेको हो ।

 प्राधिकरणले नेपाल सरकारको मन्त्रिपरिषदले गरेको निर्णयको आधारमा अनुमति पत्र खारेज गरिदिएको हो। सो निर्णयमा सरकारले किस्ताबन्दीमा रकम भुक्तानी गर्न सुविधा दिएसँगै किस्ता रकम नतिरेको खण्डमा अनुमति पत्र रद्ध गर्न सक्ने उल्लेख छ ।


सोही बुँदालाई टेकेर प्राधिकरणको बोर्ड बैठकले अनुमति पत्र खारेज गरिदिएको प्राधिकरण प्रवक्ता सन्तोष पौडेलले इकागजलाई जानकारी दिए । सुमार्गीको स्वामित्वमा रहेको यो टेलिकम कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय भएको यो दोस्रो पटक हो ।

यसअघि १७ साउन २०७६ मा बक्यौता नबुझाएको भन्दै प्राधिकरणले यस कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । प्राधिकरणको उक्त निर्णयविरुद्ध कम्पनी नेपाल सरकारसमक्ष पुनरावलोकनका लागि गएको थियो । कम्पनीको उक्त निवेदनका आधारमा मन्त्रिपरिषद्को २०७६ पुस २१ को बैठकले प्राधिकरणको उक्त निर्णयलाई उल्ट्याइदिएको थियो ।


Author

थप समाचार
x