अर्थ / बाणिज्य

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ विवाद

प्राधिकरणले भन्यो : केन्द्रीय समितिको रुपमा मान्यता दिन सकिँदैन

इकागज |
माघ ३, २०७८ सोमबार १६:५३ बजे

काठमाडौँ - विद्युत् प्राधिकरण व्यवस्थापनले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको गत कात्तिक ५ र ६ गते सम्पन्न भएको भनिएको नयाँ केन्द्रीय समिति (नामावलीसमेत) लाई केन्द्रीय समितिको रुपमा मान्यता दिन नसकिने अवगत गराएको छ ।  

‘तहाँबाट मिति २०७८/७/१० चलानी नं. १९ को पत्रबाट प्राप्त नामावलीलाई संघको केन्द्रीय समितिको रुपमा मान्यता दिई व्यवहार गर्न हाललाई नसकिने’ प्राधिकरणको प्रशासन निर्देशनालयका उपकार्यकारी निर्देशक लोकहरी लुइँटेलले हस्ताक्षर गरी संघलाई दिइएको पत्रमा छ, ‘मिति २०७८/१०/३ मा निर्णय (कार्यकारी निर्देशकस्तरीय) भएको हुँदा नियमानुसार कार्यान्वयनका लागि जानकारी गराइन्छ । 


उक्त संघले महाधिवेशन गरेको र नयाँ केन्द्रीय समिति गठन भई त्यसको नामावली प्राधिकरण व्यवस्थापनलाई गत कात्तिक १० गते बुझाएको थियो । उक्त महाधिवेशन गैरकानुनी र किर्ते भएको भन्दै श्रम तथा रोजगार कार्यालयमा उजुरी परेको थियो । 

उक्त कार्यालयले गत मंसिर २९ गते संघको १२ औं महाधिवेशनले गरेको विधान संशोधनलाई मान्यता नदिने निर्णय गरेको थियो । आफूखुसी विधान संशोधन गरी महाधिवेशन गराएको र उक्त विधान संशोधन गैरकानुनी भएको भन्दै संघका केही पदाधिकारीहरुले श्रम कार्यालयमा उजुरी दिएका थिए ।  


Author

थप समाचार
x