अर्थ / बाणिज्य

अफ–सिजनमा पनि बढ्यो सुनको आयात

भारततर्फ तस्करी भएको आशंका

पवन तिमिल्सिना |
फागुन १०, २०७७ सोमबार ७:५७ बजे

काठमाडौं: भारतीय वित्तमन्त्री निर्मला सीतारमणले गत फेब्रुअरी १ (१९ माघ) मा बजेटमार्फत सुनचाँदीको भन्सार महसुल मा ५ प्रतिशतले कटौतीको घोषणा गरिन् । यसरी भन्सार महशुल भारी कटौती गर्नुमा ‘नेपालको सस्तो भन्सार दरको दुरुपयोग गर्दै भारततर्फ सुन तस्करी भएको आशंका’ रहेको भारतीय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरे । 

विश्व बजारमा चीनपछि भारत सबैभन्दा सुनको सबैभन्दा ठूलो खरिदकर्ता हो । भारतले तस्करी नियन्त्रणका लागि भन्दै १२.५ प्रतिशत आयातमा लाग्दै आएको भन्सार महसुल घटाएर ७.५ मा झारेको छ । भारतले छिमेकी मुलुकबाट सुनमा लाग्ने भन्सार दरको असमानताका कारण तस्करी भएको आशंका गरेको थियो ।
के तेस्रो मुलुकबाट नेपालमा आयातीत सुन भारततर्फ तस्करी भएको हो ?


भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा दुई हजार १ सय किलो सुन आयात भएको छ । झन्डै १४ अर्ब ९५ करोड २७ लाख २६ हजार रुपैयाँ बराबर सुन भित्रिएको छ । यसै अवधिमा ६९ अर्ब ९१ करोड रुपैयाँ बराबर कुल वस्तु निर्यात भएको छ । अर्थात, नेपालले निर्यात आयको २१ प्रतिशत सुन किन्नमै खर्चिएको छ । 

गत आर्थिक वर्षको तुलनामा ४५० किलो बढी सुन भित्रिएको छ । गत आवको पहिलो सात महिनामा एक हजार ६ सय ५० किलो मात्रै सुन भित्रिएको थियो । यस वर्ष विवाहको लगन कम थिए भने कोभिड–१९ महामारीका कारण सुनका गहनाको बिक्री अघिल्ला वर्षहरूको तुलनामा एक चौथाई मात्र रहेको व्यवसायीहरूले बताउँदै आएका थिए । 

हामीकहाँ वाणिज्य बैंकहरूलाई मात्र सुन आयात गर्न पाउने व्यवस्था रहेको छ । तर व्यवसायीबाट अत्याधिक माग आएपछि बैंकसँग मौज्दात रहेको सुन रित्तिसकेको छ । नेपाल बैंकर्स एशोसिएसनका अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूसँग ९ किलो मात्रै सुन मौज्दात छ । खरिदको चाप बढेकाले मौज्दात रित्तिदैं गएको छ भने बैंकहरूले आफ्नो कोटा अनुसार सुन मगाउँदै आएका छन् । 

विवाहको सिजनमा अत्यधिक माग हुने गरेको नेपाली सुन बजारको लागि यो वर्ष खासै अनुकुल भएन  । यो वर्ष बैशाख, जेठ, असार र मंसिर गरी जम्मा १८ दिन मात्रै बिहेको लगन थियो । सीमित लगनका बाबजूद पनि सुनको माग बढ्नु स्वभाविक होइन ।

तुलनात्मक रुपमा सुनको भाउमा गिरावट आउँदा दसैंपछि सुनको माग बढेको सुनचाँदी व्यवसायी तर्क गर्छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्, ‘साउनमा तोलामा एक लाख रुपैयाँ नाघेको थियो । त्यसपछि सुनको भाउमा तुलनात्मक गिरावट आएको छ । अहिले तोलामा ९० हजार रुपैयाँसम्मको अनुपातमा सुनको भाउ पुगेको छ । बिहेको लगन नभए पनि बैशाखमा बिहेको सिजनलाई अहिलेदेखि जोहो गरिरहेको हुनसक्ने अनुमान छ ।’  

सुनको माग बढ्नुलाई राष्ट्र बैंकका अधिकारीहरू भने स्वाभाविक मान्छन् । विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार विगतमा २०–२५ किलोका दरले आयात गर्ने अनुमति दिइरहेकोमा दैनिक १० किलो मात्रै ल्याउ नपाउने प्रावधानले सुनको मागमा अधिक चाप परेको हो । 

बजारमा सुनको माग बढ्नुको ठ्याक्कै कारणबारे अध्ययन नगरेको मिश्र बताउँछन् । उनी भन्छन्, खासगरि विवाहको लगनमा सुनको खपत बढी हुने गरेको छ । तर, यसपाली विवाहको लगन धेरै नभए पनि व्रतबन्ध, पास्नी लगायत विभिन्न शुभकार्यमा समेत सुनको खपत हुने गरेको छ ।’

गत वर्ष १६ चैतमा कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी घोषणालगत्तै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विलासीताका वस्तुहरूसँगै सुनको आयातमा समेत कडाइ गरे । सुन आयातमा पनि उनले निगरानी बढाए । विदेशी मुद्राको सञ्चिति दुरुपयोग हुन नदिन सरकारले यस्तो निर्णय गरेको थियो । 

गत वर्ष १८ कात्तिकमा बसेको मन्त्रिपरिषद्ले विदेशीबाट फर्केका यात्रुले ल्याउने सुन तथा सुनका गहनामा भन्सार महसुल बढाएको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनमा प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको सुनको भन्सार महसुल बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्‍याएको थियो । महसुलबढेसँगै सुन महँगिने नै भयो । तर, अन्तर्राष्ट्रिय सुन बजारमा आएको उछालसँगै साउन २३ मा नेपाली बजारमा सुनको भाउ १ लाख ३ सय ४० रुपैयाँ पुग्यो । सुनको भाउ सर्वाधिक महँगो मुल्यमा पुग्दा नि यसपाली सुनको आयात बढेको देखिन्छ । 

यसै वर्ष सुनको गहना निर्यात 

विगतका वर्षहरूमा सुनका गरगहनालाई हस्तकला सामग्री अन्तर्गत व्यवहार गरिन्थ्यो । जसकारण सुनको गहनामा निर्यातको छुट्टै आँकडा पाउन सक्ने अवस्था थिएन ।  

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनका गहनाका लागि छुट्टै ‘एचएस’ (हार्मोनाइज्ड सिस्टम) कोडको व्यवस्था गरेको छ । सात महिनामा १५ करोड ६७ लाख ६८ हजार रुपैयाँ सुनका गहना निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । मुख्य रुपमा अमेरिका, अस्ट्रेलिया र हङकङमा सुन निर्यात भएको छ । 
अस्ट्रेलियामा दुई करोड १ लाख ६३ हजार रुपैयाँ बराबरको १ किलो ३८६ ग्राम सुनका गहना निर्यात भएका छन् । हङकहङतर्फ ४ करोड १८ लाख ५४ हजार रुपैयाँको ३ किलो ३४८ ग्राम सुनका गहना निर्यात भएका छन् भने अमेरिकातर्फ ९ करोड ४७ लाख ५० हजार रुपैयाँको ७ किलो ७५३ ग्राम सुनका गहना निकासी भएको तथ्यांकले देखाएको छ ।

गहना निकासीको तथ्यांक हेर्दा सुनको खपत गहना निकासीमा समेत बढ्दै गरेको बुझ्न सकिन्छ । तर, गहना निर्यातकै कारण सुनको आयात बढेको स्पष्ट आधार छैनन् । 

‘स्थानीय बजारमा पनि तस्करीको सुन बिक्री भएको आशंका’
सुन बजारको माग धान्न सरकारले निर्धारण गरेको कोटा पर्याप्त नभएको सुनचाँदी व्यवसायी बताउँछन् । अनौपचारिक (तस्करी) माध्यमबाट भित्रिने सुन स्थानीय बजारमा बिक्री हुने गरेको सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष शाक्य आशंका गर्छन् । 

उनका अनुसार नेपाली सुन बजारको औषत माग २० किलो छ । ‘हामीले सरकारसँग सुनको कोटा बढाउन माग गरिरहेका छौं । तर, सरकारले सुनेको छैन ।,’ उनी भन्छन्, ‘खरिदको चाप बढ्दा औपचारिक माध्यमबाट आएको सुनले मात्र बजार धान्ने अवस्था छैन ।’
 


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x