अर्थ / बाणिज्य

सुनकोसी-मरिन डाइभर्सनको १० अर्बमा ठेक्का

पवन तिमिल्सिना |
फागुन १२, २०७७ बुधबार १८:३५ बजे

काठमाडौं : सरकारले सुनकोशी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्‍जिनियरिङ कम्पनीलाई दिएको छ । १० अर्ब ५ करोड ६८ लाख ३७ हजार ४६४ रुपैयाँमा परियोजनाले ठेक्का दिएको हो ।
 
सुरुङ खन्‍न सुरु गरेको २७ महिनामै सम्पन्‍न गर्ने लक्ष्य रहेको परियोजना प्रमुख सुशील आचार्यले बताए । राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ खन्‍ने जिम्मा पाएको चाइना ओभरसिजले लक्ष्यभन्दा एक वर्ष अगाडि नै पूरा गरेको थियो । नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ खन्‍ने कार्य सुरु गरेर १७ महिना अवधिमा १२ हजार २ सय मिटर सुरुङ खनेको थियो ।

उनले भने, ‘भेरी बबई भन्दा चाँडो सुरुङ निर्माणको काम सम्पन्‍न गर्ने लक्ष्य छ । परियोजनाको कुल अवधि चार वर्षको रहेको छ ।’ परियोजनाको सुरुङ निर्माणको ठेक्का समेत निकै सस्तो मुल्यमा लगाएको उनको दाबी छ ।  


आर्थिक वर्ष २०७७/७८को बजेटमार्फत सरकारले सुनकोशी-मरिन आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको थियो । यो आयोजना मुख्य रूपमा सिंचाइमा केन्द्रित भए पनि पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो । यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानका रूपमा व्याख्या गरिँदै आएको छ ।

करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ । यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।

तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ । मरिनको पानी वागमतीमा पुग्‍नेछ र वागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।

मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजना बनेपछि सुनकोशीको ६४ क्युबिक मिटर प्रतिसेकेन्ड पानी मरिनमा झर्नेछ ।

आयोजनालाई ‘राष्ट्रिय गौरवको आयोजना’मा समावेश गर्ने घोषणा पोहोर सालको बजेटमै भएको थियो । सरकारले गत आर्थिक वर्षको बजेटमा यो आयोजनाका लागि २ अर्ब ८ करोड बजेट छुट्याइएको थियो ।
यो आयोजनाको सुरुङ अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत नै खनिने छ । भेरी-बबई आयोजनामा सफल भएपछि दोस्रोपटक सिँचाइ विभागले सुनकोशी मरिनमा टीबीएम मेसिन प्रयोग गर्ने निर्णय लिएको थियो ।

सरकारले सुनकोशी-मरिन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरी स्रोतको सुनिश्‍चित समेत गरिसकेको छ । गत वर्ष ६ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोजना अघि बढाउन स्वीकृति प्रदान गर्ने र स्रोतको सुनिश्‍चित गरी शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । राष्ट्रिय गौरवको सुनकोशी-मरिन अघि आयोजनाको आर्थिक वर्ष २०७३/०७४ बाट सम्भाव्यता अध्ययन सुरू गरिएको थियो ।

बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउनु यो इन्टरबेसिन वाटर ट्रान्सफर बहुद्देश्यीय सिँचाइ आयोजनाको उद्देश्य हो । बाग्मती सिँचाइ आयोजनाबाट ४५ हजार ६ सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । 

टनेल बनेपछि पावर हाउस बनाएर पानी खसालिन्छ । सुनकोशी-मरिन आयोजना इनर्जी प्रोडक्सनको हिसाबले रन अफ द रिभरको करिब तीन गुणा क्षमताको हो । रन अफ द रिभरको पानी कम भएको सिजनमा उत्पादन कम हुन्छ । तर सुनकोशी-मरिन आयोजनामा ३६५ दिनमै एकनासको उत्पादन हुन्छ । यो आयोजना ८०-८५ मेगावाट बराबरको आयोजना हो ।
 


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x